लिखित रूपमै माफी मागेपछि अबदेखि गल्ती नदोहोर्याउने सर्तमा मिलापत्र
खोटाङ — मादक पदार्थ सेवन गरी महिलामाथि लछार–पछार तथा कुटपिट गरेको भन्दै स्थानीयले प्रहरीमा बुझाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानले माफी मागेपछि छुटेका छन् ।
आइतबार राति मादक पदार्थ सेवन गरेर दिक्तेलस्थित खड्गबहादुर खत्रीकी श्रीमती उमालाई लछारपछार तथा कुटपिट गरेपछि स्थानीयले प्रहरीमा बुझाएका चौहानले प्रहरी कार्यालयमा भएको छलफलमा पीडितसँग माफी मागेपछि सोमबार छुटेका हुन् ।
चौहानले लिखित माफी मागेपछि अबदेखि गल्ती नदोहोर्याउने सर्तमा मिलापत्र भएको खड्गबहादुर खत्रीले सुनाएका छन् । उमालाई घरभित्र प्रवेश गरी लछारपछार तथा कुटपिट गरेपछि स्थानीयले नियन्त्रणमा लिएर राति नै जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । राति ढोका हान्दै भित्र प्रवेश गरेको र भित्र प्रवेश गरेपछि उमाले गुहार भन्दा आफूमाथि लछारपछार र हेलमेटले हानेको बताएकी थिइन् ।
छिमेकी राजन सैंजूका अनुसार चौहान पूर्वाधार विकास कार्यालयका कर्मचारी एक्सन दाहाललाई खोज्दै खत्रीको घरमा चौहान प्रवेश गरेका थिए । चौहानले महिलामाथि कुटपिट गर्नुका साथै टोलमा अशान्ति मच्चाएपछि प्रहरीलाई खबर गर्दा घटनास्थलमा प्रहरी नआएपछि प्रहरी कार्यालयमै लगेर बुझाएको सैंजूको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले चौहानले गल्ती गरेको स्वीकार गरी माफी मागेपछि मिलापत्र भएको बताएका छन् ।
