ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, दुई जना घाइते

मदन भण्डारी लोकमार्गमार्फत होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको हो।

पुस २१, २०८२

भोटराज राई

Two killed, two injured in tractor accident

उदयपुर — त्रियुगा नगरपालिका–७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

मदन भण्डारी लोकमार्गमार्फत होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका–६ जलजलेका ४३ वर्षिय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षीया आशा सदाको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते भएका त्रियुगा–६ मोहनपुरकी ४० वर्षीय समिद्रा सदा र सोही वडाको जलजले बस्ने ४५ वर्षीय शम्भु सदा जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन्। 

दुर्घटनामा पश्चात ट्याक्टर चालक त्रियुगा–६ बगरटोलका ३० वर्षीय मनोज साह घटनास्थलबाटै फरार छन् ।  

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully