कनकाई पुल नजिक शंकास्पद वस्तु र 'सनातन सुरक्षा सेना नेपाल'को पर्चा फेला

नेपाली सेनाको बम डिस्पोजल टोलीमार्फत शंकास्पद वस्तुको जाँच गरिएको र कुनै मानवीय वा भौतिक क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

पुस १९, २०८२

नवराज सुवेदी

Suspicious objects and pamphlets of 'Sanatan Suraksha Sena Nepal' found near Kankai Bridge

झापा — जिल्लाको कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक शंकास्पद वस्तु फेला परेका ठाउँमा ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा भेटिएको छ ।

शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर उक्त क्षेत्र घेराबन्दी गर्दै सुरक्षा सतर्कता बढाएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीमार्फत शंकास्पद वस्तुको जाँच गरिएको जिल्ला प्रहरीले जनाएको छ । हालसम्म उक्त वस्तुबाट कुनै मानवीय वा भौतिक क्षति नभएको प्रहरीले जानकारी दिएको छ । 

घटनास्थलमा भेटिएको पर्चामा ‘सनातन सुरक्षा सेना नेपाल’ को नाम उल्लेख गर्दै घोषणापत्र शैलीमा विभिन्न बुँदा समावेश गरिएको छ । पर्चामा राजसंस्था पुनःस्थापना, नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका मागहरू उल्लेख छन् । त्यस्तै, माग पूरा नभए आगामी २१ फागुनमा हुने निर्वाचन बहिष्कार गर्ने चेतावनीसमेत पर्चामा दिइएको छ । 

प्रहरीका अनुसार पर्चा कसले र कुन उद्देश्यले राखेको हो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । घटनासँग सम्बन्धित सबै पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवराज सुवेदी

Link copied successfully