संखुवासभामा हेलिकोप्टरबाट संगठन विस्तार गर्दै रास्वपा

रास्वपाले पुस १६ गतेदेखि संखुवासभाको उत्तरी क्षेत्रअन्तर्गत पर्ने भोटखोला र मकालु गाउँपालिकामा हेलिकोप्टरमार्फत आमसभा तथा कार्यकर्ता भेटघाट सुरु गरेको हो।

पुस १९, २०८२

दीपेन्द्र शाक्य

Rashtriya Swayamsevak Sanghuwasabha expanding its organization by helicopter

What you should know

संखुवासभा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संखुवासभामा संगठन विस्तारका लागि फरक रणनीति अपनाएको छ।

दुर्गम भौगोलिक अवस्थालाई मध्यनजर गर्दै पार्टीले निजी हेलिकोप्टर प्रयोग गरेर जिल्लाका उत्तरी र दक्षिणी क्षेत्रमा संगठन विस्तार तथा आमसभा सञ्चालन गरिरहेको छ।

रास्वपाले पुस १६ गतेदेखि संखुवासभाको उत्तरी क्षेत्रअन्तर्गत पर्ने भोटखोला र मकालु गाउँपालिकामा हेलिकोप्टरमार्फत आमसभा तथा कार्यकर्ता भेटघाट सुरु गरेको हो।

पार्टीका अनुसार दुर्गम भेगका बस्तीहरूमा छोटो समयमै पुग्न कठिन भएकाले वैकल्पिक माध्यमका रूपमा हेलिकोप्टर प्रयोग गरिएको हो।

यस अभियानमा हालै कांग्रेसको महासमिति सदस्य पद छाडेर रास्वपामा प्रवेश गरेका मकालु गाउँपालिका–१ वालुङका मिङ्मा शेर्पा पनि संलग्न छन्। शेर्पाले आफ्नै निजी हेलिकोप्टर प्रयोग गरेर संगठन विस्तारमा सक्रिय सहभागिता जनाइरहेका छन्। उनले ‘हेली एभरेष्ट’ कम्पनीमार्फत हेलिकोप्टर सेवा उपलब्ध गराउँदै आएका छन्।

रास्वपाका जिल्ला सभापति भक्तनारायण श्रेष्ठका अनुसार हेलिकोप्टरमार्फत गाउँ–गाउँ पुगेर कार्यकर्ता भेला, आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सञ्चालन भइरहेको छ। 'कार्यकर्ताले गाउँमा कार्यक्रम राख्नुहुन्छ, संखुवासभाको भौगोलिक अवस्था अत्यन्तै कठिन छ,' उनले भने, 'सबै ठाउँ छोटो समयमा पुग्न सकिँदैन, त्यही कारण शेर्पाजीको सहयोगमा उहाँ समेत हेलिकोप्टरबाट गाउँगाउँ पुगिरहेका छौं।'

उनका अनुसार यो अभियान फागुन २१ गते हुने निर्वाचनलाई लक्षित प्रचारात्मक कार्यक्रमसमेत हो।

रास्वपाले भोटखोला र मकालु गाउँपालिकासँगै पाँचखपन नगरपालिकाको तेर्से क्षेत्र, चैनपुर नगरपालिकाको मैदाने, नुनढाकी लगायतका स्थानमा सभा गरिसकेको छ। सभामा उल्लेख्य जनसहभागिता र स्थानीयको उत्साहजनक समर्थन प्राप्त भइरहेको पार्टीको दाबी छ।

पार्टी स्रोतका अनुसार रास्वपाले यसपटकको निर्वाचनमा मिङ्मा शेर्पालाई उम्मेदवार बनाउने तयारीसमेत गरेको छ।

पर्यटन व्यवसायी शेर्पा  चर्चित हिमाल आरोही मध्ये मानिन्छन्। उनले आठ हजार मिटरभन्दा अग्ला १४ भन्दा बढी हिमाल आरोहण गरिसकेका छन्। पर्यटन, साहसिक खेल र स्थानीय विकासमा उनको अनुभवले जिल्लामा नयाँ राजनीतिक विकल्प दिन गर्न सक्ने विश्वास रास्वपाको छ।

हेलिकोप्टरमार्फत गरिएको यो संगठन विस्तार अभियानलाई कतिपयले खर्चिलो र असामान्य भनेका छन् भने कतिपयले दुर्गम जिल्लाका लागि व्यवहारिक र प्रभावकारी उपायका रूपमा मूल्यांकन गरेका छन्।

दीपेन्द्र

Link copied successfully