इन्डो–नेपाल मिडिया कप फुटबल पुस २७ देखि

पूर्वी सीमामा रहेका पत्रकारहरुको संस्था प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते प्रतियोगिता आयोजना हुने भएको हो।

पुस १९, २०८२

नवराज सुवेदी

Indo-Nepal Media Cup Football from December 10

झापा — पर्यटन प्रवर्द्धन तथा दुई देशका पत्रकार बीच भाइचारा बढाउने उद्देश्यका साथ झापामा ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता आयोजना गरिन लागेको छ।

पूर्वी सीमामा रहेका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते प्रतियोगिता आयोजना हुने भएको हो।

भारतको दुई र नेपालका ६ गरी आठ वटा पत्रकार सम्बद्ध संस्थाको सहभागिता रहने प्रतियोगिता काँकडभिट्टा माविको खेल मैदानमा आयोजना हुने आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेलले बताए।

उनका अनुसार प्रतियोगितामा इन्डिया प्रेस क्लब सिलिगुडी र तराई प्रेस क्लब दार्जिलिङ गरी भारतका दुई टिम सहभागी हुनेछन् भने भद्रपुर प्रेस क्लब, अर्जुनधारा प्रेस क्लब, बुद्धशान्ति प्रेस क्लब, दमक पत्रकार मञ्च, कनकाई प्रेस क्लब र आयोजक गरी नेपालका ६ टिम सहभागी हुनेछन् । 
आयोजकका अनुसार प्रतियोगिता विजेताले नगद ५० हजार पाउनेछ । यस्तै, उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ। 

खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायतलाई नगदसहित पुरस्कृत गरिने पनि आयोजकले जानकारी दिएको छ । 

खेलकुदको माध्यमबाट दुई देश बीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचार–प्रसार गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पौडेलले बताए।

प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि स्थानीय सरकार तथा यस क्षेत्रमा सक्रिय संस्थाहरुसँग सहयोगको आव्हान गरिएको उनले बताए। 

नवराज सुवेदी

Link copied successfully