क्यामेरा ट्र्रयापमा अति संकटापन्न वन्यजन्तु

विभिन्न सामुदायिक वनहरूमा १३ वटा क्यामेरा राख्दा अति संकटापन्नको सूचीमा रहेको प्रजातिकासहित विभिन्न १६ प्रजातिका स्तनधारी वन्यजन्तु प्राकृतिक बासस्थानमा क्यामेरामा ट्रयाप भएका हुन् ।

पुस १९, २०८२

डम्बरसिं राई

Critically Endangered Wildlife Caught in Camera Traps

What you should know

खोटाङ — जिल्लाको जालपा, खार्मी र हौचुरस्थित सामुदायिक वनहरूमा राखिएको क्यामेरा ट्रयापमा अति संकटापन्न कालो सालक लगायतका वन्यजन्तु कैद गरिएको छ ।

पुस १९ गते आयोजित सालक संरक्षण तथा क्यामेरा ट्रयाप नतिजा सार्वजनिक गोष्ठीको सन्दर्भमा सालक लगायत अन्य विभिन्न १६ प्रजातिका स्तनधारी वन्यजन्तु क्यामेरामा कैद भएको जानकारी गराइएको हो ।

उक्त क्यामेरा ट्रयाप सर्वेक्षणमा सहभागी प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका कार्यकारी निर्देशक जीवन राईका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, ११ खार्मी र रावाबेसी गाउँपालिका–६ हौचुरका विभिन्न सामुदायिक वनहरूमा १३ वटा क्यामेरा राख्दा अति संकटापन्नको सूचीमा रहेको प्रजातिका एक, संवेदनशील प्रजातिका तीन, संकट नजिकमा रहेका प्रजातिका दुई र कम चासोका प्रजातिमा पर्ने १० गरी विभिन्न १६ प्रजातिका स्तनधारी वन्यजन्तु प्राकृतिक बासस्थानमा क्यामेरामा ट्रयाप भएका हुन् ।

उनका अनुसार सन् २०२५ मा ४ देखि ६ महिनासम्म क्यामेरा ट्रयाप जडान गर्दा अति संकटापन्न प्रजातिका कालो सालक, संवेदनशील प्रजातिका थार, ध्वाँसे चितुवा, चितुवा, संकट नजिक रहेका आसामी बाँदर र घोरल क्यामेरामा कैद भएका छन् । त्यस्तै कम चासोका प्रजातिमा पर्ने चरी बाघ, रतुवा मृग, गँगटे न्याउरी मुसा, ढेँडु, सानो सुँगुरेभालु, ठूलो निर बिरालो, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रो क्यामेरा ट्रयापमा देखिएको छ । 

‘सामुदायिक वनमा आबद्ध समुदायलाई आफ्नो क्षेत्रमा रहेका जैविक विविधता, वन्यजन्तुको अनुगमन र संरक्षणका लागि आफैंले क्यामेरा ट्रयापिङ गर्ने सीप विकास गर्न क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो,’ राईले भने । 

उक्त क्यामेरा ट्रयाप सर्वेक्षण जालपाका सामुदायिक वनहरू, प्रकृति संरक्षण तथा अध्ययन केन्द्र, द मोहम्मद बिन जायद स्पिसिज कन्जरभेसन फन्ड, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, जनसेवा समाज नेपाल, आयूसीएन सीईसीको साझेदारीमा गरिएको हो ।

द मोहम्मद बिन जायद स्पिसिज कन्जरभेसन फन्डले क्यामेरा उपलब्ध गराएको र क्यामेरा ट्रयाप गर्ने सीप प्रकृति संरक्षण तथा अध्ययन केन्द्रले प्रदान गरेको आयोजक मध्येका कोरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बर्जध्वज राईले सुनाए । उक्त क्यामेरा ट्रयाप सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा स्थानीय ताली, कोरे, धोद्रे, पैरेनी, कागजथला, छारू, सालघारी सामुदायिक वन सहभागी छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully