झापामा भेटिएको शंकास्पद वस्तुलाई सेनाले पार्‍यो निष्क्रिय

कनकाई माई खोला पुल नजिक कालो झोलामा प्रेसर कुकर र तार जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

पुस १९, २०८२

नवराज सुवेदी

Army neutralizes suspicious object found in Jhapa

काठमाडौँ — कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने कनकाई माई खोला पुल नजिक फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

शनिबार बिहान यहाँ कालो झोलामा प्रेसर कुकर र तार जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । झापा प्रहरीले उक्त खबर पाउनासाथ शंकास्पद वस्तु देखिएको स्थान शिल गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गरिएको थियो । त्यसपछि सेनाको श्री अरिदमन गणका चारआलीबाट खटिएको टोलीले बिहान १० बजे उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको झापा प्रहरीले जनाएको छ ।

कनकाई पुलमुनि लगेर निष्क्रिय बनाउने क्रममा उक्त शंकास्पद वस्तुबाट ठूलो आवाज निस्किएको थियो । शंकास्पद वस्तुसँगै त्यहाँ ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत फेला परेको छ ।

पर्चामा राजसंस्था पुनःस्थापना, नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका मागहरू उल्लेख छन् । त्यस्तै, माग पूरा नभए आगामी २१ फागुनमा हुने निर्वाचन बहिष्कार गर्ने चेतावनीसमेत पर्चामा दिइएको छ ।

नवराज सुवेदी

Link copied successfully