जंगली हात्तीले झापामा तीन घरमा क्षति

रातको समयमा गाउँ पसेका हात्तीले तीन घर भत्काएका छन् भने स्थानीयका धान र अरु अन्नसमेत खाइदिइएका छन् ।

पुस १८, २०८२

रासस

Wild elephants damage three houses in Jhapa

झापा — जंगली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीनवटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

कमल गाउँपालिका-३ बगाले टोलस्थित गणेश बस्नेतको टिनको छानो भएको घर, भद्रपुर नगरपालिका- ७ डाँफे चोकस्थित ऋषि भट्टराईको एकतले पक्की भवनको भान्सा घर र बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित टंक बराइलीको टिनको छानो भएको कच्ची घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

कमल–३ का गणेश बस्नेतले रातको समयमा घरभित्र पसेका तीनवटा हात्तीले मूलघर आंशिक रूपमा र भान्साघर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको बताए । हात्तीले उनको घरमा चार मन धान र चार मन मकैको पीठो खाएको थियो भने लत्ताकपडा, भाडावर्तन, फर्निचर गरी एक लाख बराबरको धनमाल क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए ।

भद्रपुरका ऋषि भट्टराईको घर र भान्साघर भत्काउँदा २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ भने बिर्तामोडका बराइलीको घर भत्किँदा र अन्नबाली खाइदिँदा ४५ हजार बराबरको क्षति भएको छ । सूचना अधिकारी खड्काका अनुसार बराइलीको एकतले कच्ची घरको टाटी भत्काएर हात्ती भण्डार कोठामा पसेको थियो । भण्डारमा रहेको आठ क्विन्टल धान र एक क्विन्टल चामल हात्तीले खाइदिएको थियो ।

रासस

Link copied successfully