दुर्घटनामा परी मेचीनगर नगरपालिका–६ निवासी अन्दाजी ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको हो।
झापा — मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा स्कुटी चालकको मृत्यु भएको छ ।
बिहीबार अपराह्न काँकडभिट्टाबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ५८८८ नम्बरको स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट पीभी ०२ बीआर ७७६५ नम्बरको मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटी चालक मेचीनगर नगरपालिका–६ निवासी अन्दाजी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि आम्दा अस्पताल, धुलाबारी लगिएकोमा राति सवा ९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक भारतको पञ्जाब राज्य, अमृतसर जिल्ला भोलेबाबा निवासी ३६ वर्षीय सन्दीप सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । ट्रक पनि प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
