नो केबलकार समूहद्वारा आन्दोलनको घोषणा

ताप्लेजुङको फुङलिङ नगरपालिका र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गर्दै समूहले आन्दोलन घोषणा गरेका हुन् । सभा, जुलसदेखि प्रदर्शनसम्मका कार्यक्रम घोषणा गरिएको छ ।

पुस १८, २०८२

आनन्द गौतम

No Cable Car group announces protest

What you should know

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गर्दै समूहले आन्दोलन घोषणा गरेका हुन् । सभा, जुलसदेखि प्रदर्शनसम्मका कार्यक्रम घोषणा गरिएको छ ।

पुस २२ देखि ताप्लेजुङका सबै स्थानीय तहसहित विभिन्न जिल्लामा गाउँघर भेला तथा छलफल गर्ने, माघ १२ गते पूर्वी नेपालका सबै जिल्ला तथा मुख्य बजारमा कोणसभा गर्ने, माघ १६ गते फुङलिङ बजारमा जनप्रदर्शन र कोणसभा गर्ने, १७ गते ‘नो केबलकार’ आन्दोलनका क्रममा घाइते भएकालाई सम्मान गर्ने, १८ गते पाथीभराको कान्छीथानदेखि मन्दिरसम्म धागो टाङ्ने कार्यक्रम सार्वजनक गरिएको छ । 

१९ गते पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा प्रदर्शन र कोणसभा र २० माघदेखि मसान्तसम्म पाथीभरा केबलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणका क्रममा भएको आन्दोलनमा लगाइएका मुद्दा खारेजीसहितका विषयलाई निर्वाचनको एजेन्डा बनाएर गाउँबस्तीमा अभियान चलाउनेसहितका कार्यक्रम घोषणा भएका छन् ।

केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले आफूहरुको एकमात्र माग मन्त्रिपरिषद‍्‌स्तरीय निर्णयबाट केबलकार खारेजी रहेको बताए । निर्माण कम्पनीले जतिसुकै कामगरे पनि चल्न नदिने धम्की उनले दिएका छन् । विरोध कार्यक्रमको विज्ञप्तिमा १५ वटा संघ संस्था र नौवटा राजनीतिक दलले हस्ताक्षर गरेका छन् । 

राजनीतिक दलतर्फ राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावती, जसपा केन्द्रीय कार्यकारिणीका अध्यक्ष रमेश राई, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव सञ्जय राई, नागरिक उन्मुक्ति पार्टी कोशी प्रदेशका अध्यक्ष धनबहादुर पन्धाक, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, मंगोल नेशनल अर्गनाइजेसनका अध्यक्ष नयन्द्र चाम्लिङ र नेपाल कम्युनिष्ट पार्टी किरात लिम्बुवान प्रदेश समितिका अध्यक्ष गजेन्द्र पालुङ्वाले हस्ताक्षर गरेका छन् ।

संघसंस्थातर्फ मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ संघीय समितिका प्रेम येक्तेन, किरात राई यायोक्खा कन्द्रीय कार्यसमितिका अध्यक्ष जीवन हाताचो राई, लिम्बू थरगत संस्था सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वाले आन्दोलनका कार्यक्रमको विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यस्तै किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका संयोजक डकेन्द्रसिंह थेगिम, प्रदेश नम्बर १ पुन नामांकन अभियान समितिका महासचिव रामभक्त कुरुम्बाङ, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जे शेर्पा, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघका अध्यक्ष ङिमि शेर्पा, याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गो, याक्थुङ चोःसङजुम्भोका संस्थापक सदस्य किरणकुमार सिगु, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सागर केरुङ र लिम्बू विद्यार्थी मञ्चका महासचिव प्रदिप नेयोङले हस्ताक्षर गरेका छन् ।

फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा ‘नो केबलकार’ पक्षधर सबै घटकका प्रतिनिधिको उपस्थिति थियो । आफूहरु केबलकारको स्थान तलमाथि वा यताउता गरेर मान्ने पक्षमा पनि नरहेको अर्का अभियन्ता किर्तिमान मादेनले बताए । आन्दोलनरत घटकका कसैले स्थान यताउता गरेर बनाउने विषय राखेको भए त्यो व्यक्तिगत विचार हुने तर संस्थागत निर्णय भने केबलकार खारेजी नै रहेको बताए । फेम्बु यसअघिको सरकारसँग गठित आन्दोलनरत समूहको वार्ता समिति संयोजक पनि हुन् ।

केबलकार निर्माणस्थलमा यसअघि पनि पटकपटक झडप भएको छ । निर्माण कम्पनीले सशस्त्र र नेपाल प्रहरी राखेर निर्माण गरिरहेको छ । तर कति प्रतिशत काम भयो भन्नेचाँहि खुलाइएको छैन ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully