सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डीआइजी कुमार न्यौपानेका अनुसार मृतक साहको शव पाेष्टमार्टमपछि परिवारलाई बुझाइएकाे हाे।
काठमाडौँ — सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट मृत्यु भएका स्थानीय विजय साहको शव परिवारले बुझेका छन्।
सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डीआइजी कुमार न्यौपानेका अनुसार मृतकको शव पाेष्टमार्टमपछि परिवारलाई बुझाइएकाे हाे।
तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले बुधबार राति १ बजेतिर गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो। सीमावर्ती क्षेत्रबाट दुई/तीन वटा सीटी सफारी तथा अटो रिक्सामा चोरी तस्करी गरी मालसामान ल्याउँदै गर्दा दोहोरो भिडन्त हुँदा उनको मृत्यु भएको सशस्त्र प्रहरीको दाबी छ। तर मृतकका परिवार र स्थानीयले यसलाई अस्वीकार गरेका छन् ।
डीआइजी न्याैपानेका अनुसार जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी सुनसरीका एसपी निर्मलकुमार थापा, सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी गणेशदत्त पाण्डे, लौकहीका बीओपी प्रमुख मनीषकुमार कटुवाललाई बाहिनी तानिएको छ।
साहको मृत्यु भएपछि छानबिनका लागि गठित समितिले मृतक परिवार, स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारी बीच बिहीबार जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले मृतक परिवारलाई तत्काल एक लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराएर घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएको थियो।
त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्का र राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका अनुसन्धान अधिकृत सविना खनाल सदस्य रहेको समिति गठन भएको थियो ।
समितिले आजबाट काम सुरु गरेको छ। सो समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने समय पाएको छ।
