निगमले ताप्लेजुङ उडान थप्यो

अब सुकेटार विमानस्थलमा सोमबार, बुधबार र शुक्रबार दैनिक एक पटकका दरले सातामा तीन दिन उडान हुने छ।

पुस १७, २०८२

आनन्द गौतम

NAC adds flights to Taplejung

ताप्लेजुङ — सातामा दुई दिन सोमबार र शुक्रबार काठमाडाैं-ताप्लेजुङ उडान गर्दै आएको नेपाल वायुसेवा निगमले अब बुधबार पनि उडान गर्ने भएको छ।

यात्रुको चाप हेरेर सुकेटार विमानस्थलमा उडान थप गरिएको निमगको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए ।

निगमसँग अहिले दुई वटा ट्विनअटर जहाज चालु अवस्थामा भएकाले पनि निमगलाई उडान थप्न सहज भएको उनले बताए। अब साताको सोमबार, बुधबार र शुक्रबार गरी दिनमा एक पटकका दरले तीन दिन उडान हुने कार्कीले बताए।

निगमको जहाजमा एक पटकमा काठमाडाैंबाट बालबालिका भए १४ र अन्य १३ जनासम्म यात्रु ताप्लेजुङ आउने गरेका छन् । फर्कँदा १५ देखि १६ जनासम्म जानसक्ने कार्यालयले जनाएको छ।

काठमाडाैैंबाट ताप्लेजुङ आउँदा फर्कने फ्युल समेत ल्याउनुपर्ने भएकाले कम यात्रुले उडान भर्न पाउँछन् । भाडादर भने ९ हजार ४ सय रुपैयाँ रहेको छ । यहाँ निगमले मात्रै उडान गर्दै आएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully