सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्यान गएपछि लौकही बजार तनावग्रस्त

आक्रोशित स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतकको शव राखेर यातायात ठप्प बनाएका छन् भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन् ।

पुस १७, २०८२

अर्जुन सुवेदी

Laukahi market tense after one person killed in armed police firing

काठमाडौँ — सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय विजय साहको मृत्यु भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको शसस्त्र प्रहरीले गएराति गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो । सीमावर्ती क्षेत्रबाट दुई-तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरीतस्करी गरी मालसामान ल्याउदै गर्दा प्रहरीसँग दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डीआईजी कुमार न्यौपानेको दाबी छ ।

'तस्करीमा संलग्नहरुले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा शाहको मृत्यु भएको हो,' न्यौपानेले भने, 'अवैध रुपमा भारतीय क्षेत्रबाट सामान ल्याउँदै गरेको अवस्थामा रोकेर बुझ्न खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएपछि जवाफी फायरिङ गरिएको हो, सो क्रममा एक जनाको मृत्यु भयो ।'

सशस्त्र प्रहरीले शाहको 'हत्या गरेको' भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतक साहको शव राखेर उनीहरुले यातायात ठप्प बनाएका छन् भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन् ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्, प्रहरीले भिड तितरबितर पार्न हवाई फायर गरेको छ ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । पीडित पक्ष र प्रशासनबीच छलफल गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले बताए ।

अर्जुन सुवेदी

Link copied successfully