सशस्त्र प्रहरीको गोलीबाट मृत्यु घटनामा छानबिन समिति गठन गर्ने सहमति

घटनाबारे सत्यतथ्य छानबिन गर्ने र पीडित परिवारलाई न्याय दिलाउने विषयमा पाँच बुँदे सहमति भएकाे छ।

पुस १७, २०८२

अर्जुन सुवेदी

Agreement to form an investigation committee into the death by gunfire of the Armed Police Force

What you should know

सुनसरी — सुनसरीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवक विजय साहको मृत्युको घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएको छ ।

गोली प्रहारबाट स्थानीय युवक साहको मृत्यु भएपछि बिहीबार उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयमा बसेकाे सरोकारवाला बीचकाे बैठकमा घटनाबारे सत्यतथ्य छानबिन गर्ने र पीडित परिवारलाई न्याय दिलाउने विषयमा पाँच बुँदे सहमति भएकाे छ।

सहमति अनुसार सशस्त्र प्रहरीको गोली प्रहारबाछ साहको मृत्यु भएको घटना छानबिन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ।

छानबिन समितिमा नेपाल प्रहरीको काेशी प्रदेश कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहनेछन्। समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ।

छानबिन प्रतिवेदन प्राप्त भएपछि सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको ठहर भएमा प्रचलित नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ।

त्यसैगरी मृतक साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहल गर्ने र सहजीकरण गर्ने सहमति गरिएको छ।

मृतकका छोराले सशस्त्र प्रहरी बलमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमअनुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति पनि भएको छ।

साथै मृतक साहको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसंस्कार गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।

बैठकमा जिल्ला प्रशासन, सुरक्षा निकाय तथा पीडित पक्षका प्रतिनिधिहरूको सहभागिता थियो। सहमतिपछि लाैकहीको क्षेत्रको अवस्था क्रमशः सामान्य बन्ने अपेक्षा गरिएको छ। 

तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले बुधबार राति १ बजेतिर गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो।

सीमावर्ती क्षेत्रबाट दुई/तीन वटा सीटी सफारी तथा अटो रिक्सामा चोरी तस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भीडन्त भएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपानेले बताए।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले गरेकाे प्रदर्शनका कारण लौकही बजार तनावग्रस्त बनेको  थियाे । पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतक साहको शव राखेर उनीहरुले यातायात ठप्प बनाएका थिए भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन् ।

Agreement to form an investigation committee into the death by gunfire of the Armed Police Force

अर्जुन सुवेदी

Link copied successfully