स्वास्थ्य शिविरमा ४ सय २४ जनाको परीक्षण

स्वास्थ्य शिविरमा खार्मी, पाथेका, नेर्पा, दोर्पा, सोल्मा, दिक्तेल, विजयखर्क, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बासिन्दाले स्वास्थ्य परीक्षण गराएका थिए ।

पुस १७, २०८२

डम्बरसिं राई

424 people tested at health camp

खोटाङ — जिल्ला अस्पताल दिक्तेलमा बिहीबार भएको महिलाको प्रजनन स्वास्थ्य शिविरमा २२ जनामा पाठेघरको मुखको भीआईए पोजिटिभ देखिएको छ । ३ सय १० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा त्यस्तो समस्या देखिएको हो ।

शिविरमा खार्मी, पाथेका, नेर्पा, दोर्पा, सोल्मा, दिक्तेल, विजयखर्क, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ४ सय २४ बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार थर्मोकोगुलेसन गर्दा समेत पोजिटिभ नै देखिएकाले पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना भएकाले थप परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा बोलाइएको छ । 

शिविरमा ९१ जनाको आङ खस्ने समस्या भएको फेला परेको छ । यसमध्ये २५ जनाको रिङपेसरी लगाइएको र अन्य २० जनाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरूलाई नगरपालिकाले बनेपा लैजाने आचार्यले सुनाए । 

स्क्रिनिङमा शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई माघ पहिलो सातासम्ममा बनेपा लगिने आचार्यले बताए । उनीहरूको उपचार निःशुल्क गरिनेछ । महिला प्रजनन अंगको संक्रमण ५६ जनामा देखिएको थियो । 

पुस १८ र १९ गते रावाबेसी गाउँपालिका र पुस २० र २१ गते हलेसी तुवाचुङ नगरपालिकामा शिविर सञ्चालन गरिने सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरका कार्यक्रम को–अर्डिनेटर हरिहर उप्रेतीले जानकारी दिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully