कोशीमा राष्ट्रिय सभा निर्वाचनको औपचारिक सुरुवात

३ सिटका लागि ३ सय ६७ मतदाताको निर्णायक भूमिका ।

पुस १६, २०८२

पर्वत पोर्तेल

National Assembly elections officially begin in Koshi

What you should know

विराटनगर — कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको छ । निर्वाचन व्यवस्थापनलाई सहज र पारदर्शी बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश भीष्मराज प्रसाईंलाई निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । उनले कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गरिने प्रतिबद्धता जनाएका छन् ।

कार्यालय स्थापना भएसँगै निर्वाचन कार्यतालिका कार्यान्वयनमा गएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार पुस १९ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने पुस २३ देखि २७ गतेसम्म उम्मेदवारको दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ । पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिनेछ ।

कोशी प्रदेशमा यसपटक महिला, दलित र अन्य समूहबाट तीन जना राष्ट्रिय सभा सदस्य चयन हुँदैछन् । प्रतिनिधित्वका हिसाबले संवेदनशील मानिने दलित र महिला समूहका सिटले राजनीतिक दलहरूको रणनीति र गठबन्धनलाई थप सक्रिय बनाउने संकेत देखिएको छ । जसले आगामी राजनीतिक समीकरण र शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा पनि गरिएको छ ।

निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरी कूल ३ सय ६७ मतदाता सहभागी हुनेछन् । जसमा २ सय ७४ स्थानीय तहका जनप्रतिनिधि र ९३ प्रदेशसभा सदस्य छन् । मतभार प्रणाली अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रमुख–उपप्रमुखको मतभार १९ कायम गरिएको छ, जसले परिणाममा प्रदेशसभा सदस्यहरूको भूमिकालाई तुलनात्मक रूपमा निर्णायक बनाउँछ ।

राजनीतिक दलहरूबीच आन्तरिक गृहकार्य तीव्र भइरहेका बेला निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै कोशीमा राष्ट्रिय सभा निर्वाचनले औपचारिक गति लिएको हो । अबको केही दिन राजनीतिक समन्वय, उम्मेदवारी छनोट र समीकरणको हिसाबले महत्त्वपूर्ण रहने देखिन्छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully