भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले ६ लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
झापा — पूर्वी नाका काँकरभिट्टाबाट अवैध रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार दिउँसो मेची भन्सार कार्यालयको यात्रु शाखामा भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले ६ लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत अरुणाञ्चल प्रदेश तवाङ्ग जिल्ला खासा पञ्चायत बस्ने वर्ष ६२ का लोम्साङ फल्चोक छन् । उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनले बोकेको झोला चेक गर्दा झोलामा लुकाइछिपाइ ल्याएको भारतीय रुपैयाँ एक सय दरको ३८ सय वटा, दुई सय दरको एक हजार वटा र पाँच सय दरको एक सय वटा गरी जम्मा ६ लाख ३० हजार रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
उक्त भारतीय रुपैयाँसहित उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइएको जनाइएको छ ।
