बुइपामा भएको स्वास्थ्य शिविरमा बुइपा, विजयखर्क, राजापानी, नुनथला, बिजुले लगायतका २ सय १६ बिरामीले स्वास्थ्य परीक्षण गरेका थिए ।
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा भएको महिलाको प्रजनन स्वास्थ्य शिविरमा १५ जनामा पाठेघरको मुखको भीआईए पोजेटिभ देखिएको छ । बुधबार भएको शिविरमा १ सय ८० जनाको परीक्षण गर्दा १५ जनामा त्यस्तो समस्या देखिएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार थर्मोकोगुलेसन गर्दा समेत पोजेटिभ नै देखिएकाले पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना भएकाले थप परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा बोलाइएको छ ।
त्यस्तै उक्त शिविरमा ६२ जनाको आङ खस्ने समस्या भएको फेला परेको छ । यसमध्ये २२ जनाको रिङपेसरी लगाइएको र अन्य ९ जनाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरूलाई बनेपा बोलाइएको आचार्यले सुनाए । शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई पुस अन्तिमसम्ममा बनेपा लगिने छ । उनीहरूको उपचार निःशुल्क गरिनेछ ।
बुइपामा भएको स्वास्थ्य शिविरमा बुइपा, विजयखर्क, राजापानी, नुनथला, बिजुले लगायतका २ सय १६ बिरामीले स्वास्थ्य परीक्षण गरेका थिए । बिहीबार जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
