अत्यधिक चिसो र शीतलहर बढेपछि सुनसरीका अधिकांश स्थानीय तहका विद्यालयमा बिदा

इटहरी उपमहानगरपालिकासहित दुहबी, इनरुवा, हरिनगर, भोक्राहनरसिंह र कोशी गाउँपालिकाका विद्यालयहरूमा तीन दिन बिदा दिइएको हो।

पुस १५, २०८२

अर्जुन सुवेदी

Most local level schools in Sunsari declared holiday due to extreme cold and increasing cold wave

सुनसरी — अत्यधिक चिसो र शीतलहरका कारण पठनपाठनमा कठिनाइ भएपछि सुनसरीका अधिकांश स्थानीय तहहरुले सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

इटहरी उपमहानगरपालिकासहित दुहबी, इनरुवा, हरिनगर, भोक्राहनरसिंह र कोशी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी सूचना अनुसार २०८२ साल पुस १६ गतेदेखि १८ गतेसम्म (तीन दिन) विद्यालयहरूमा बिदा दिइएको हो । चिसोको बढ्दो असरले विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठन प्रभावित हुन थालेपछि यस्तो निर्णय गरिएको जनाइएको छ । 

स्थानीय तहहरुद्धारा जारी सूचनामा उल्लेख गरिएअनुसार बिदा अवधिमा विद्यालयको पठनपाठन, परीक्षालगायत सम्पूर्ण शैक्षिक गतिविधिहरू सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ । ती स्थानीय तहहरुले सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई यस निर्णयको जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । 

मौसमको अवस्था सामान्य भएपछि पठनपाठन पुनः नियमित रूपमा सञ्चालन गर्न गराउन स्थानीय तहहरुले आग्रहसमेत गरेका छन् । सुनसरीको धरान उपमहानगरसहित बराह क्षेत्र र रामधुनी नगरपालिकाले भने बुधबार बिहान शिक्षा समितिको बैठक बसर थप निर्णय गर्ने जानकारी आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन सुनसरीका अध्यक्ष नेल्सन ढकालले जानकारी दिए ।

अर्जुन सुवेदी

Link copied successfully