एम्बुलेन्सभित्र ५सय २१ किलो गाँजा भेटियो

पक्राउ परेका दुवै जनामाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

521 kg of marijuana found inside ambulance

विराटनगर — गाँजा तस्करीमा बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग भएको पाइएको छ । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले एम्बुलेन्स प्रयोग गरी ओसारपसार गरिएको  ५सय २१ किलो गाँजा बरामद गरिएको हो ।

प्रहरीले गाजासँगै घटनास्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा केराबारी गाउँपालिका–५ मा चेकिङमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकी भित्र सवार व्यक्ति फरार हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । भाग्न खोज्ने धनकुटा सहिदभूमि–६ का निश्चल राई र सागुरिगढी–२ का खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिइएको थियो । 

कोशी प्रदेश प्रहरी कार्यालयका  अनुसार एम्बुलेन्सभित्र १६ वटा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो । 

बरामद गाँजा र एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully