सुन लुट्ने धनमाया पक्राउ

सेलिङले शनिबार अपराह्न रसाइलीलाई ‘जंगलमा कालिजको गुँड देखेकी छु, बच्चा समात्न जाऊँ’ भनेर नजिकैको अम्रिसो बारीमा लगेर बेहोस हुने गरी कुटपिट गरी गहना लुटेर फरार भएको घटना सार्वजनिक भएको थियो ।

पुस १४, २०८२

लक्ष्मी गौतम

Gold looter Dhanamaya arrested

पाँचथर — छिमेकी ६० वर्षीया विष्णुमाया रसाइलीलाई जंगलमा लगेर मरणासन्न हुने गरी कुटपिट गरी सुन लुटेर फरार पाँचथर याङवरक–५ की धनमाया सेलिङ पक्राउ परेकी छिन् ।

उनलाई पाँचथर प्रहरीले सिक्किम र पश्चिम बंगालको सीमावर्ती नजिक फालेलुङ–४ चित्रे भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सेलिङले शनिबार अपराह्न रसाइलीलाई ‘जंगलमा कालिजको गुँड देखेकी छु बच्चा समात्न जाऊँ’ भनेर नजिकैको अम्रिसो बारीमा लगेर बेहोस हुने गरी कुटपिट गरी गहना लुटेर फरार भएको घटना सार्वजनिक भएको थियो । रसाइलीको होस खुलेपश्चात् आफन्तको सम्पर्कमा आएर घटनाबारे बताएसँगै प्रहरीले पीडकको खोजी गर्न थालेको थियो ।

दुई दिनको खोजीपश्चात् सेलिङलाई पक्राउ गर्न सफल भएको पाँचथर प्रहरीले जनाएको छ । सुन लुट्नुपूर्व बेहोस हुने गरी कुटपिट गरिएकी रसाइलीको झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने सेलिङलाई जिल्ला प्रहरी कार्यालय फिदिमको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully