महिलाको सशक्तीकरण र बालबालिकाको बालसंरक्षणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण लगायत समग्र बालअधिकारसम्बन्धी तालिम दिइएको हो ।
What you should know
सुनसरी — देवानगञ्ज र गढी गाउँपालिकाका आत्मनिर्भर समूह र वडास्तरीय महिला सञ्जालका सदस्यहरूको क्षमता विकासका लागि संचालन गरिएको दुइ दिने तालिम सम्पन्न भएको छ ।
भ्वाइस अफ चिल्ड्रेन इटहरीको सहजीकरण र केएनएच जर्मनीको सहयोगमा सञ्चालन भएको कार्यक्रममा आत्मनिर्भर समूहका महिलाहरूको क्षमता अभिवृद्धि गर्न उद्देश्यसहित पुस १० र ११ गते दुई दिने कार्यक्रम संचालन गरिएको हो ।
देवानगञ्ज र गढी गाउँपालिकामा आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि परेका तथा जोखिमपूर्ण समुदायका महिलाको सशक्तीकरण र बालबालिकाको बालसंरक्षणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण लगायत समग्र बालअधिकारसम्बन्धी तालिम दिएको भ्वाइस अफ चिल्ड्र्नेका उपनिर्देशक राजु घिमिरेले जानकारी दिए ।
उनका अनुसार देवानगञ्ज तथा गढी गाउँपालिकामा १०१ वटा अत्मनिर्भर समूह गठन भएका छन् । ती समूहबाट १६ सयभन्दा बढी महिला संगठित भएका छन् र उनीहरू साप्ताहिक रूपमा बैठक बसी आफ्ना योजना बनाउने, स्थानीय सरकारसँग समन्वय गर्ने र महिला अधिकार तथा बालअधिकारबारे समुदायमा चेतना फैलाउने कार्यक्रम गर्दै आएको भ्वाइस अफ चिल्ड्र्नेका उपनिर्देशक घिमिरेले बताए ।
त्यस्तै आत्मनिर्भर समूहका महिला सदस्यहरूले स्थानीय सरकारसँग समन्वय गरी महिलाअधिकार र बालअधिकारका विषयमा समुदायमा चेतना जगाउने, आयआर्जनमूलक कार्य गर्ने, सदस्यहरूको नेतृत्व विकास गर्ने लगायतका क्रियाकलाप सञ्चालन गरिरहेको भ्वाइस अफ चिल्ड्र्नेका उपनिर्देशक घिमिरेले बताए । विशेष गरी महिलाहरूले आत्मनिर्भर समूह र वडास्तरीय महिला सञ्जालका माध्यमबाट आर्थिक, सामाजिक तथा नेतृत्व विकास तथा बाल संरक्षणका सवालहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
तालिममा आत्मनिर्भर समूह कार्यक्रमको माध्यमबाट समुदायमा महिला शसक्तीकरण र बालसंरक्षणका कार्यहरू प्रभावकारी भएको आत्मनिर्भर समूहका वडास्तरीय महिला सञ्जालका सदस्यहरूले बताएका छन् ।
त्यसै गरी वडास्तरीय महिला सञ्जाललाई आगामी दिनमा पालिकास्तरीय बनाउने सदस्य महिलाहरूले कार्यक्रममा बताएका छन् । साथै आत्मनिर्भर समूहका सदस्यहरूले आर्थिक, सामाजिक र नेतृत्व विकाससँगै बालअधिकार प्रवर्द्धन र संरक्षणमा आफ्नो सक्रिय योगदान जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
