हिलिहाङ गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

सबै बालबालिकालाई निश्चित उमेर समूहमा लगाउनु पर्ने सबै खोपको मात्रा पूरा गरेसॅगै यो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो ।

पुस १३, २०८२

लक्ष्मी गौतम

Hilihang Rural Municipality declares complete vaccination

What you should know

पाँचथर — हिलिहाङ गाँउपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको छ । यो गाँउपालिकालाई मापदण्डअनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै आइतबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

७ वटा वडा रहेको हिलिहाङमा ४ हजार ३ सय ३३ घरधुरी र १७ हजार ८ सय ७१ जनसंख्या रहेको छ । जसमध्ये जन्मदेखि ११ महिनासम्मका १ सय ५९, १२ देखि १५ महिनाका ७१, १६ देखि २३ महिनाका २ सय ३० र २४ देखि २३ महिनाका ५ सय २३ गरी कुल ९ सय ८३ बालबालिका छन् ।

सबै बालबालिकालाई निश्चित उमेर समूहमा लगाउनु पर्ने सबै खोपको मात्रा पूरा गरेसॅगै यो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो ।  यत्तिका बालबालिकालाई खोपको मात्रा पूरा गर्न पालिकाभरिका ८ वटा स्वास्थ्य संस्था र २७ वटा खोप केन्द्रमार्फत ३ सय २४ वटा खोप सेसन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष समर अधिकारीले जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वेले गाउँपालिका अध्यक्ष अधिकारी, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र साँवा र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र दिँदै हिलिहाङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेका हुन् । यो गाउँपालिका विगत ४ वर्षदेखि निरन्त पाँचथर जिल्लामा पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिकाका रुपमा पुरस्कृत हुँदै आएको छ । गत वर्ष भने यो पालिका कोशी प्रदेशमा पहिलो पूर्ण खोप सुनिश्चत बन्न सफल भएको थियो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको खोप शाखाका प्रमुख भरत भण्डारीले यो वर्ष हिलिहाङ खोपका सबै मात्रा पूरा गरेर पूर्ण खोप सुनिश्चिता एवं दिगोपना घोषणा गर्ने नेपालकै पहिलो स्थानीय तह बन्न सफल भएको बताए ।

घोषणा कार्यक्रममा बोल्दै गाउॅपालिका अध्यक्ष अधिकारीले खोप अभियानमा खट्ने कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविका गरी ८० जनालाई कदरपत्रमार्फत सम्मान गरिएको थियो । 

कोशी प्रदेशमा १ सय ३७ स्थानीय तह छन् । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेशकुमार सुनार, खोप सुपरभाइजर गणेश तुम्वापो र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिसँगै जनप्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा पालिकास्थित राजनैतिक दलका नेताहरूले पनि शुभकामना मन्तव्य राखेका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully