संखुवासभामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

उपचारकै क्रममा धनबहादुर सुनारको मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

पुस १२, २०८२

दीपेन्द्र शाक्य

One dead, two injured as two motorcycles collide in Sankhuwasabha

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित कोशी राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उपचारकै क्रममा धनबहादुर सुनारको मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

सभाखोलाबाट तुम्लिङटारतर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प २२७७ नम्बरको मोटरसाइकल शनिबार साढे ६ बजेतिर एकआपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । दुर्घटनामा को १८ प ७१७६ नम्बरको मोटरसाइकल चालक खाँदबारी–९ तुम्लिङटार बस्ने अन्दाजी ४८ वर्षीय चक्रबहादुर सुनारको बायाँ हात, बायाँ खुट्टा र चिउँडोमा सामान्य चोट लागेको छ । सोही मोटरसाइकलको पछाडि सवार अन्दाजी ४५ वर्षीय गम्भीर घाइते धनबहादुर सुनारको मृत्यु भएको हो ।

त्यसैगरी प्र १–०२–०४३ प २२७७ नम्बरको मोटरसाइकल चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बस्ने अन्दाजी ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठ पनि सामान्य घाइते भएका छन् । तीनै जना घाइतेको स्थानीय मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेकोमा साँझ साढे ७ बजे धनबहादुर सुनारको मृत्यु भएको अस्पतालका चिकित्सकले जनाएका छन् ।

दुर्घटनास्थलमा दुवै मोटरसाइकल तत्काल नियन्त्रणमा लिइएको छ । दुर्घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाबाट करिब १३ किलोमिटर दक्षिणमा पर्छ । प्रारम्भिक अनुसन्धानअनुसार दुवै चालकसँग सवारी चालक अनुमति पत्र रहेको, मदिरा सेवन नगरेको र पक्की सडकमा तीव्रगतिका कारण दुर्घटना भएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

दीपेन्द्र

Link copied successfully