ताप्लेजुङबाट प्रत्यक्षतर्फ नेकपाका बुढाक्षेत्री सिफारिस

माओवादी, नेकपा एस लगायतका दल मिलनपछि शुक्रबार बसेको पहिलो बैठकले परागलाई प्रत्यक्षमा सर्वसम्मत एकल नाम सिफारिस गर्ने र समानुपातिक तथा राष्ट्रिय सभाका लागि मिलाएर सिफारिस गर्ने निर्णय गरेको हो ।

पुस १२, २०८२

आनन्द गौतम

NCP's Budha Chhetri recommended for direct election from Taplejung

ताप्लेजुङ — २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई सँग २ सय ८ मतले पराजित खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ फेरि उम्मेदवार बन्ने भएका छन् । नेपाली कम्युनिष्ट पार्टीले उनको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

माओवादी, नेकपा एस लगायतका दल मिलनपछि शुक्रबार बसेको पहिलो बैठकले परागलाई प्रत्यक्षमा सर्वसम्मत एकल नाम सिफारिस गर्ने र समानुपातिक तथा राष्ट्रिय सभाका लागि मिलाएर सिफारिस गर्ने निर्णय गरेको हो । 

समानुपातिकतर्फ भने तत्कालीन एकीकृत समाजवादीका रामचन्द्र (आरसी) पोमु आदिवासी जनजातिमा, माओवादीका दावाछिरिङ शेर्पा (विषालु) अल्पसङ्ख्यक, नेकपाका असिम लिम्बू (जेनजी) खुला र एसका कल्पना तुम्वाहाम्फेलाई महिला उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।

राष्ट्रिय सभाका लागि दलिततर्फ एसका नेत्र नेपाली र खुलामा माओवादीका पर्शुराम कार्कीको नाम सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टीका विष्णुकुमार हाङवाङ (बिरु) ले जानकारी दिए । 

दलहरूको सङ्गठनात्मक संरचना केन्द्रबाट आइनसकेकाले एउटा दलको नेताले अध्यक्षता गर्ने, अर्को दलबाट आएकाले कार्यक्रम सञ्चालन गर्ने, अर्को दलबाट आएकाले स्वागत मन्तव्य राख्ने, प्रमुख अतिथि राख्ने जस्ता क्रियाकलाप गरेर बैठक चलिरहेको नेताहरूले बताएका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully