सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा सुरु भएको महोत्सवमा सांगीतिक कार्यक्रम, पर्यटकीय क्षेत्रको अवलोकन, होमस्टे निरीक्षण, सांस्कृतिक झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको छ।
संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–४ स्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सेकाहामा ५ दिने ‘ऐतिहासिक सेकाहा महोत्सव संचालन भएकाे छ।
स्थानीय कला, संस्कृति र पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ शुक्रबारदेखि आयोजना गरिएको ५ दिने महोत्सवले सेकाहालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले बताए।
सेकाहासामुदायिक विकास क्लबको आयोजनामा सुरु भएको महोत्सवमा सांगीतिक कार्यक्रम, सेकाहा गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन, पर्यटन प्रवर्द्धन तथा होमस्टे निरीक्षण, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको छ। सेकाहामा गुरुङ समुदायको बाक्लो बस्ती छ।
यसैगरी जिल्लाभरका तमू (गुरुङ) समुदायको सहभागितामा तमू ल्होसार पर्व समेत यसै अवशरमा सामूहिक रूपमा मनाइने आयोजकले जनाएकाे छ। महोत्सवमा छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने, परम्परागत नृत्य तथा खेलकुद कार्यक्रम पनि सुरु भएको छ।
तमू(गुरुङ) समुदायको मुख्य पर्व तमू ल्होसारको अवसर पारेर आयोजना गरिएको यो महोत्सवले पाँच दिनसम्म सेकाहामा रमझम, सांस्कृतिक सौन्दर्य र भाइचाराको वातावरण सिर्जना गर्ने आयोजकले जनाएकाे छ । महोत्सवले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुर्याउने आयोजक समितिका अध्यक्ष मनिराज गुरुङले बताए।
