विद्यार्थी निलम्बनपछि मनमोहन प्राविधिक विश्वविद्यालयमा तनाव

विद्यार्थीहरू साँच्चै दोषी हुन् वा होइनन् भन्नेबारे थप बुझ्ने र समस्याको समाधान निकाल्न वार्ताको बाटो रोजिएको विश्वविद्यालयले जनाएको छ। छलफलपछि मात्रै निलम्बनसम्बन्धी अन्तिम निर्णय गरिने पनि प्रशासनको भनाइ छ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Tension at Manmohan Technical University after student suspension

विराटनगर — विश्वविद्यालयका छात्रा जिस्क्याएको आरोपमा चार जना छात्रलाई निलम्बन गरिएपछि मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा तनाव भएको छ। 

पोलिटेक्निक विषय अध्ययनरत छात्राहरूलाई केही छात्रहरूले जिस्क्याएको आरोपपछि विश्वविद्यालय प्रशासनले चार जना विद्यार्थीलाई निलम्बन गरेसँगै क्याम्पसमा शुक्रबार बिहान तनावको स्थिति सिर्जना भएको हो।

करिब ४–५ दिनअघि छात्रामाथि अभद्र व्यवहार गरिएको भन्दै विश्वविद्यालय प्रशासनले अभिभावकसँग छलफल गरी चार जना विद्यार्थीलाई १५ दिनका लागि कलेज प्रवेश निषेध गर्ने निर्णय गरेको विश्वविद्यालय स्रोतले जनाएको छ। तर निलम्बनमा परेकामध्ये केही विद्यार्थी र उनीहरूका अभिभावकले आफूहरू निर्दोष रहेको दाबी गर्दै निर्णयप्रति आपत्ति जनाएका थिए।

निलम्बन गरिएकोमध्ये एक विद्यार्थीले आफू घटनामा संलग्न नभएको दाबी गरे पनि अन्य विद्यार्थीहरूले उनको पनि संलग्नता रहेको आरोप गरेका छन्। यही विषयलाई लिएर असन्तुष्ट विद्यार्थीहरू आक्रोशित बन्दै विश्वविद्यालयको मुलगेट बाहिर टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनका कारण केही समय विश्वविद्यालय परिसर वरपर स्थिति तनावपूर्ण बनेको थियो। यद्यपि, क्याम्पस भित्र कुनै ठूलो भौतिक क्षति नभएको प्रशासनले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन विश्वविद्यालय प्रशासनले सूचना जारी गर्दै अभिभावकहरूसँग पुनः छलफल गर्ने तयारी गरेको छ। विद्यार्थीहरू साँच्चै दोषी हुन् वा होइनन् भन्नेबारे थप बुझ्ने र समस्याको समाधान निकाल्न वार्ताको बाटो रोजिएको विश्वविद्यालयले जनाएको छ। छलफलपछि मात्रै निलम्बनसम्बन्धी अन्तिम निर्णय गरिने पनि प्रशासनको भनाइ छ।

कान्तिपुर संवाददाता

Link copied successfully