मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका-३ का भद्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
काठमाडौँ — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६, पिपल चोकमा रहेको तमोर फाईभ जलविद्युत् आयोजनामा कार्यरत दैलेखका एक मजदुरको मृत्यु भएको छ । बर्दियाका एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका-३ का भद्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । ढुंगा लागेर गम्भीर घाइते भएका शाहीलाई तापेथोक आधारभूत उपचार केन्द्रमा ल्याइएको थियो । तर चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको गौतमले बताए ।
सुरुङ निर्माणको क्रममा ढुंगाले लागेर घाइते भएका बर्दियाको मधुवन नगरपालिका-४ का आकाश खड्काको भने जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । तापेथोकमा सामान्य उपचारपछि जिल्ला अस्पताल ल्याइएको हो ।
शाहीको शव जिल्ला अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई बुझाउने प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलको अध्ययन तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशीष पोखरेलको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
