दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रमा बस्ने ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीया श्रीमती खुस्बु खातुनलाई बिहीबार शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
सुनसरी — सुनसरीको दुहबीमा एक व्यक्तिले आफ्नै श्रीमतीको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् । दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रमा बस्ने ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीया श्रीमती खुस्बु खातुनलाई बिहीबार शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार घरायसी वादविवादका क्रममा मुस्तफाले श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएका थिए ।
छिमेकी र स्थानीयले घटनाबारे थाहा पाउना साथ प्रहरीमा खबर गरेका थिए । दुहबी प्रहरी कार्यलयबाट प्रहरी सहायक निरीक्षक शिव नारायण माझीको कमाण्डमा २ जनाको टोलीले घाइते महिलाको उद्धार गरेको थियो । प्रहरी टोलीले घाइते महिलालाई उद्धार गरी उपचारका लागि नजिकै रहेको सामुदायिक अस्पताल पठाएको थियो ।
आगोले जलेर गम्भीर भएकी ती महिलाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार साँझ विराटनगरस्थित पारस अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ । घाइतेको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ । आफ्नै श्रीमतीलाई जलाउने मुस्तफालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
