किमाथाङ्कामा फोरजी सेवा विस्तार

उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत पर्ने भोटखोला गाउँपालिका क्षेत्रको किमाथाङ्कामा नेपाल टेलिकमले बिहीबारदेखि फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

पुस ११, २०८२

दीपेन्द्र शाक्य

4G service expansion in Kimathanka

संखुवासभा — चीनसँग जोडिएको उत्तरी नाका किमाथाङ्कामा तीव्र गतिको इन्टरनेट सेवा विस्तार भएको छ। उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत पर्ने भोटखोला गाउँपालिका क्षेत्रको किमाथाङ्कामा नेपाल टेलिकमले बिहीबारदेखि फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

यसअघि अति विकट र दुर्गम क्षेत्र मानिँदै आएको किमाथाङ्कामा स्याटेलाइट लिंकमार्फत सीमित टुजी सेवा मात्र उपलब्ध थियो।

भोटखोलाको सिम्बोक्प डाँडामा रिपिटर स्थापना गरी माइक्रोवेभ (रेडियो) लिंकमार्फत आधुनिक प्रविधिमा आधारित सेवा विस्तार गरिएको नेपाल टेलिकमले जनाएको छ। फोरजी सेवा सञ्चालनमा आएपछि सङ्खुवासभा जिल्लाका सम्पूर्ण पालिका तथा वडाहरूमा नेपाल टेलिकमको इन्टरनेट पहुँच पुगेको छ।

यसले स्थानीय बासिन्दालाई सञ्चार, शिक्षा, स्वास्थ्य, व्यापार तथा सरकारी सेवामा डिजिटल पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।स्थानीयवासीहरूले दुर्गम क्षेत्रमै उच्च गतिको इन्टरनेट सेवा पुगेपछि खुसी व्यक्त गरेका छन्।

यसलाई क्षेत्रको विकास, सूचना पहुँच र सीमावर्ती सुरक्षाका दृष्टिले ऐतिहासिक उपलब्धिको रूपमा लिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए।

दीपेन्द्र

Link copied successfully