फेमे खोला ल्याइयो काबेलीको बेलिब्रिज

मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डमा पर्ने काबेली खोलाबाट ल्याएर यहाँ बेलिब्रिज जोड्न लागिएको हो ।

पुस १०, २०८२

लक्ष्मी गौतम

The Feme River was brought to Kabylie's Bailey Bridge

पाँचथर — फिदिम–याङनाम–नांगीन–फालौट सडक खण्डमा पर्ने फेमे खोलामा जडान गर्न बेलिब्रिज ल्याइएकाे छ ।

मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डमा पर्ने काबेली खोलाबाट ल्याएर यहाँ बेलिब्रिज जोड्न लागिएको हो । २०८१ असोज १२ को बाढीले पक्की पुल बगाएपछि फेमे खोलामा बनाइएको डाइभर्सन पटक पटक बगेपछि यात्रा कष्टकर बन्दै आएको थियो ।

संघीय सरकारले फेमे खोलामा जडान गर्नका लागि काबेलीमा रहेको ५० मिटर लामो बेलिब्रिज उपलब्ध गराए सँगै प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय मार्फत यहाँ बेलिब्रिज जोड्न प्रक्रिया थालिएको थियो ।

यहाँ खोलामा बेलिब्रिज जोड्न सुनगाभा विल्डर्स एण्ड सुपर शंखमुल कम्पनीले सम्झौता गरेको छ । १ करोड ३९ लाख ८२ हजार ५ सय ६२ रुपैयाँमा ठेक्का लागेको पुल जडानको काम दुई महिनाभित्रै सम्पन्न गर्ने निर्माण व्यवसायी कमल गौतमले बताए ।

फेमे खोलाको बाटो भएर फिदिमबाट याङनाम, नाङ्गीन, सिदिन, लुङरुपा, प्राङवुङ र मेमेङ हुँदै भारत र सिक्किम सिमावर्ती तीन सिमाना र फालौट क्षेत्रसम्म पुग्न सकिन्छ । यहाँको पुल बगेपछि यातायात र ढुवानी सेवा प्रभावित हुँदै आएको थियो ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully