७ महिनामै जन्मिएको १७ सय ५० ग्रामको नवजात शिशुको सफल उपचार 

नोबेल मेडिकल कलेजमा ७ दिनसम्म उपचार गराएर फर्काइएका शिशुलाई जिल्ला अस्पताल संखुवासभामा अत्याधुनिक इन्क्युबेटरमार्फत उपचार सुरु गरिएको थियो ।

पुस १०, २०८२

दीपेन्द्र शाक्य

Successful treatment of a 1,750-gram newborn baby born at 7 months

संखुवासभा — मंसिर ८ गते जिल्ला अस्पताल संखुवासभामा ७ महिनामै समयपूर्व जन्मिएको १७ सय ५० ग्राम तौलको नवजात शिशुको इन्क्युबेटरमा राखेर सफल उपचार भएको छ । 

जन्मिएको केही दिनमै तौल घटेर १५ सय ग्राम पुगेको शिशुलाई थप उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएको थियो । नोबेल मेडिकल कलेजमा ७ दिनसम्म उपचार गराएर फर्काइएका शिशुलाई जिल्ला अस्पताल संखुवासभामा अत्याधुनिक इन्क्युबेटरमार्फत उपचार सुरु गरिएको थियो । 

इन्क्युबेटरमा राखेर निरन्तर उपचारपछि शिशुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउँदै तौल बढेर १९ सय ग्राम पुगेको छ । उक्त शिशु सभापोखरी १ धुपुकी १७ वर्षीया प्रविना लिम्बुले मंसिर ८ गते जन्माएकी थिइन् । जन्मिँदै श्वासप्रश्वासमा समस्या देखिएपछि शिशुलाई ७ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

त्यसपछि १८ दिनसम्म एनआईसीयूमा निगरानीमा राखी उपचार गरिएको बालरोग विशेषज्ञ डा. शान्ति शिवाकोटीले जानकारी दिइन् । झण्डै एक महिनासम्मको सघन उपचारपछि बुधबार आमा र शिशु दुवैको स्वास्थ्य अवस्थामा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

नर्सिङ ट्रस्ट यूकेले करिब एक महिनाअघि मात्र जिल्ला अस्पताल संखुवासभालाई दुई वटा अत्याधुनिक इन्क्युबेटर हस्तान्तरण गरेको थियो । समयपूर्व जन्मिने नवजात शिशुलाई सुरक्षित वातावरणमा राखी उपचार गर्न इन्क्युबेटर अत्यावश्यक हुने भएकाले यसले अस्पतालको नवजात सेवा क्षमतामा महत्त्वपूर्ण टेवा पुर्‍याएको अस्पताल प्रमुख डा. सन्तोष देवले बताए ।

दीपेन्द्र

Link copied successfully