दुर्घटनामा एक जनाको मृत्यु

मंगलबार राति दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

One person died in the accident.

विराटनगर — झापाको दमक नगरपालिकामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । 

मंगलबार राति दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

हनुमान मन्दिरतर्फबाट रतुवापुलतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१७ प ३३४४ नम्बरको २२० सीसी क्षमताको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकको पूर्वपट्टि पानी जमेको ढलको नालीमा पसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक झापा कमल गाउँपालिका–६ निवासी खङ बहादुर राईका छोरा ३८ वर्षीय बिनोद राई मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान सुरु गरिएको छ । शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाइएको छ ।

कान्तिपुर

Link copied successfully