बाँदर बन्ध्याकरणका लागि दक्ष जनशक्ति र उपकरणका लागि भारत सरकारसँग माग गर्ने निर्णय गरिएको नगर प्रमुख भट्टराईले बताए ।
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँदर बन्ध्याकरण गरिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन कार्यविधि २०८२ निर्माणका लागि बुधबार भएको छलफलमा उक्त निर्णय भएको हो ।
बाँदर नियन्त्रणसम्बन्धी कार्ययोजना र त्यससँग सम्बन्धित तयारीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको छलफलमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँदर बन्ध्याकरण गर्ने निर्णय गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
बाँदर बन्ध्याकरणका लागि दक्ष जनशक्ति र उपकरणका लागि भारत सरकारसँग माग गर्ने निर्णय गरिएको भट्टराईले जनाए । यसका लागि साढे तीन करोड बजेट आवश्यक पर्ने भएकाले यसमध्ये कृषि तथा पशुपन्छी मन्त्रालयले १ करोड २ लाख बजेट विनियोजन गरेको र अन्य आवश्यक बजेटसमेत मन्त्रालयले नै जोहो गर्ने निर्णय भएको भट्टराईले सुनाए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालको अध्यक्षतामा भएको छलफलमा नगर प्रमुख भट्टराई, सहसचिवहरू डा. हरिबहादुर केसी, डा. पशुपति ढुंगाना, पशुसेवा विभागका महानिर्देशक डा. रामानन्दन तिवारी लगायत सरोकारवाला निकायका पदाधिकारी सहभागी थिए ।
