झापामा ‘चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव’ हुने

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले तरुल उत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

'Fourth International Yam Festival' to be held in Jhapa

झापा — स्थानीय बालीको संरक्षण, अर्गानिक तथा ग्रामीण खाद्य संस्कृतिको प्रवर्द्धन र हात्तीको क्षतिबाट जोगिन सकिने बाली विस्तार गर्ने उद्देश्यले झापाको मेचीनगर–४ बाहुनडाँगीमा ‘चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव’ आयोजना हुने भएको छ ।

मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष तथा उत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीका अनुसार वडाले चार वर्षदेखि निरन्तर तरुल उत्सव आयोजना गर्दै आएको छ । परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले उपभोग गर्दै आएका तरुलका विभिन्न प्रजातिहरू उत्सवमा प्रदर्शनीमा राखिनेछ । उत्सवमा घर तरुल, वन तरुल, सिमल तरुल, सुठुनी लगायत दर्जनौं प्रकारका तरुलहरूको स्वादसमेत चाख्न पाइनेछ ।

वडाध्यक्ष कार्कीका अनुसार यसपटक भारतसहित भुटानका किसान र पर्यटन व्यवसायीसमेत उत्सवमा सहभागी बन्ने छन् । उत्सव पुस ३० देखि माघ २ सम्म तीन दिन आयोजना हुनेछ । 

तरुल उत्पादन, बजारीकरण, जैविक खेती, हात्तीबाट कम क्षति हुने बालीका सम्भावना र स्थानीय कृषि संरक्षणबारे अनुभव आदान–प्रदान गर्ने उद्देश्य पनि उत्सवले बोकेको आयोजक समितिका सदस्य निरज घिमिरेले जनाए ।  ‘यसपटकको उत्सव अलि भिन्न हुने छ,’ घिमिरेले भने, ‘हामी उत्सव मात्रै गर्दैनौं, बाहुनडाँगीका समस्याहरूमाथि विचार–विमर्श समेत गर्छौं ।’ 

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले तरुल उत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उत्सवलाई सफल पार्न आधा दर्जन भन्दा बढी उपसमितिहरूसमेत गठन गरिएको छ । उत्सवमा दार्जिलिङका गायिका डेजी बराइली, नेपाली गायक/संगीतकार टीका भण्डारी लगायतको प्रस्तुतिसमेत रहने जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully