दम्पतीको हात खुट्टा तार र सलले बाँधेर लुटपाट
खोटाङ — साकेला गाउँपालिका-१ बाझेच्यानडाडाँ सेखुवास्थित झगरपुर टोलमा लुटपाट भएको छ । स्थानीय ६६ वर्षीय ज्ञानबहादुर बुडाथोकीको घरमा आइतबार लुटपाट भएको भन्दै सोमबार प्रहरीमा उजुरी परेको हो ।
साँझ करिब ७ बजेतिर अन्दाजी करिब ३०/३५ वर्षका दुई पुरुषले बास मागेको र राति ९ बजे राति ज्ञानबहादुरकी श्रीमती चन्द्रकुमारीसहित दम्पतीको हात खुट्टा तार र सलले बाँधेर लुटपाट गरेका हुन् ।
पीडितका ज्वाइँ लिलाबहादुर खत्रीका अनुसार एक तोला सुनको कुन्डल, एक लाख ५० हजार ६ सय नगद र एउटा मोवाइल फोन लुटेर लगेका हुन् । लुटेराहरू गइसकेपछि राति १२ बजे सल र तारले बाँधेको खेलेर हेदा लुटिएको ३ फोनमध्ये दुई वटा सानो फोन फेला परेको खत्रीले सुनाएका छन् ।
लुटपाटमा संलग्न दुई मध्ये एक जना सहित तीन जना पुस २ गते उक्त घरमा बास बसेका थिए । यस विषयमा पुस ७ गते प्रहरीमा उजुरी दिएको खत्रीले सुनाएका छन् ।
लुटपाटमा संलग्नले आफूहरूको उदयपुर घर भएको र काठ व्यवसाय गर्ने गरेको बताएको खत्रीले सुनाएका छन् । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताएका छन् ।
