वीपी प्रतिष्ठानमा 'सेन्ट्रल ल्याब' प्रणाली लागू

प्रतिष्ठानका अनुसार हाल सञ्चालनमा रहेका इमर्जेन्सी ल्याब र रुटिन ल्याबलाई गाँभेर सेन्ट्रल ल्याबमार्फत सबै प्रयोगशाला परीक्षण सेवा साताको सातै दिन र चौबिसै घण्टा उपलब्ध गराइने छ ।

पुस ८, २०८२

एलिना राई

'Central Lab' system implemented at VP Institute

What you should know

धरान — धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशाला सेवालाई एकीकृत गर्दै ‘सेन्ट्रल ल्याब’ सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका अनुसार हाल सञ्चालनमा रहेका इमर्जेन्सी ल्याब र रुटिन ल्याबलाई गाँभेर सेन्ट्रल ल्याबमार्फत सबै प्रयोगशाला परीक्षण सेवा साताको सातै दिन र चौबिसै घण्टा उपलब्ध गराइने छ ।

प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार इमर्जेन्सी ल्याब र रुटिन ल्याबलाई गाँभेर गरी पुष ५ गतेदेखि ‘सेन्ट्रल ल्याब’ सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता प्रधानले जानकारी दिइन् । उनका अनुसार अटोमेटिक, सेमिअटोमेटिक तथा किट–बेस प्रविधिमार्फत परीक्षण सञ्चालन गरिनेछ ।

नमुना प्राप्त भएको दुई घण्टाभित्रइमर्जेन्सी तथा इएचएस सेवाका बिरामीको रिपोर्ट उपलब्ध गराउने लक्ष्य राखिएको छ भने ओपिडी तथा आइपिडी सेवाका बिरामीको रिपोर्ट तीन घण्टाभित्र उपलब्ध गराइने उनले बताइन् ।

प्रवक्ता प्रधानद्वारा जारी सूचनामा रुटिनर इर्मजेन्सी ल्याबमा छुट्टाछुट्टै नमुना पठाउनुपर्ने दोहोरो प्रक्रिया अन्त्य हुने उल्लेख छ ।  

यसअघि इमर्जेन्सी ल्याबबाट सीमित प्रकारका परीक्षण मात्र हुँदै आएको थियो । सेन्ट्रल ल्याब सञ्चालनमा आएपछि भने सबै प्रकारका प्रयोगशाला परीक्षण एउटै प्रणालीमार्फत चौबिसै घण्टा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार इमर्जेन्सी, आइपिडी तथा इएचएस सेवाका लागि ल्याब नमूना संकलन चौबिसै घण्टा हुनेछ । ओपिडी सेवा तथा बाहृय रेफरलका लागि भने फागुनदेखि कात्तिकसम्म बिहान७ बजेदेखि अपराहृन ४ बजेसम्म नमूना संकलन गरिनेछ ।शुक्रबार बिहान ७ बजेदेखि मध्याहृन १२ बजेसम्म समय तोकिएको छ ।

यस्तै, मंसिरदेखि माघसम्म बिहान ७ बजेदेखि अपराहृन ३ बजेसम्म नमूना संकलन हुनेछ भने शुक्रबार बिहान ७ बजेदेखि मध्याहृन १२ बजेसम्म संकलन हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले सेन्ट्रल ल्याब सञ्चालनपछि प्रयोगशाला सेवा थप व्यवस्थित र प्रभावकारी हुने जनाएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully