बगर सम्याएर ५२ वर्षदेखि पुसे मेला, भलिबल हेर्न ओइरिन्छन् दर्शक

बर्खा सकिएपछि मेवाखोलामा पानी घट्दा कुनै न कुनै भाग खाली बन्छ । त्यहीँ खाली बनेकाे बगरमा आयाेजना हुने पुसे मेलाकाे अवसर पारेर पछिल्ला वर्ष भलिबल प्रतियागिता पनि हुँदै आएकाे छ ।

पुस ८, २०८२

आनन्द गौतम

Bagar Samayar Puse Fair has been held for 52 years, spectators flock to watch volleyball

What you should know

ताप्लेजुङ — मेरिङदेन र आठराइत्रिबेणी गाउँपालिकाको सिमाना भएर बग्ने मेवाखोलाले दोभान बजारनजिक हरेक वर्ष धार परिवर्तन गर्छ । कहिले मेरिङदेनतर्फको भाग कटान गर्छ भने कहिले आठराई तर्फको ।

बर्खा सकिएपछि खोलामा पानी घट्दा कुनै न कुनै भाग खाली बन्छ । त्यहीँ खाली बनेकाे बगरमा पुसे मेला आयाेजना हुने गरेकाे छ । मेलाकै अवसर पारेर पछिल्ला वर्ष भलिबल प्रतियागिता पनि आयाेजना हुँदै आएकाे छ । मंसिर सुरु भएपछि दोभान बजारका युवा खोलाले फराकिलो पारेर छोडेको बगरलाई डोजरले सम्याएर प्रतियोगिता गराउँछन् । त्यो भलिबल हेर्न गाउँगाउँबाट मानिसहरु ओइरिन्छन् ।

मिक्वाखोला गाउँपालिका–५ पापुङका डोल्मा शेर्पा पुस ५ गते ६ सय रुपैयाँ भाडा तिरेर १२ साथीसँगै दोभान बजार पुगिन् । बिहानै घरबाट खाना खाएर बजार निस्किएको उनको समूहले दिउँसो भोजपुर र सङ्खुवासभा जिल्ला बीच भएको भलिबल प्रतियोगिताको फाइनल हेरे । बेलुका समिक्षा अधिकारी, प्रकाश सपुत समेतको उपस्थितिमा भएको कन्सर्ट हेरेर उनीहरु भोलिपल्ट घर फर्किए ।

भलिबल र कन्सर्टमा सहभागी हुँदा उनीहरुले एक जनाको कम्तीमा दुई हजार रुपैयाँ खर्च गरे । भलिबलका लागि १ सय र कन्सर्टका लागि २ सय गरी ३ सय रुपैयाँ आयोजकलाई टिकट वापत बुझाए । आफ्नो पालिकासँग सिमाना जोडिएको जिल्ला भएकाले सङ्खुवासभालाई जिताउन बाहिरबाट हौसला पनि दिए । 

फुङलिङ नगरपालिका–८ दोखु बेजम्वूका बाबुराम पालुङवा लिम्बू र राजेन्द्र नेपालले पुस २ देखि ५ गतेसम्म प्रतियोगिता अवलोकनका लागि दैनिक ४२ किलोमिटर कच्ची सडकमा मोटरसाइकलबाट यात्रा गर्दा कम्तीमा १२ लिटर पेट्रोल खर्च भयो । टिकट, खाजा समेत गर्दा १० हजार भन्दा बढी खर्च गरे । उनीहरुको रुचि भने भलिबल मात्रैमा थियो । 

मेरिङदेन–२ खाम्लुङ दोभान बजारका बासिन्दाले हरेक वर्ष पुसको सुरुआतमा पुसे मेलाको आयोजना गर्छन् । मेरिङदेन र आठराईत्रिबेणी गाउँपालिकाको सिमाना भएर बग्ने मेवाखोलामा हरेक वर्षायाममा अनिबार्य बाढी आउँछ । बाढीले दोभान बजारका बासिन्दालाई पनि त्राहीमाम पार्छ । मंसिरमा खोला सानो भएउपछि स्थानीयले सम्याएर बनाएको बगरमा हुने मेला र भलिबल प्रतियोगिता छिमेकी जिल्लाबाट समेत दर्शकको आइरो लाग्ने गरेको हो ।

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भइसकेका मेरिङदेन–४ लिङतेपका प्रताप प्रकाश हाङगामका अनुसार यो मेला ५२ वर्षदेखि लाग्दै आएको छ । धुले ओडारमा सुरु भएको मेलाको एक जना साक्षी उनी पनि हुन् । त्यसबेला भलिबल, फुटबल जस्ता खेलकुदका लागि नभएर गाउँघरका मानिस भेला हुने, डोका, डाला, नाम्ला, थुन्से बिक्री गर्ने साथीभाई भेट गर्ने स्थलको रुपमा थियो । हरेक वर्ष पुस १ देखि ३ गते मेला लगाउने र यसको नाम पुसे मेला राख्ने सहमति अनुसार मेला सुरु भएको उनले सुनाए । तीन दिनका लागि आयोजना हुन थालेको यो मेला सात दिनसम्म पनि लाग्यो ।

Bagar Samayar Puse Fair has been held for 52 years, spectators flock to watch volleyball

लिम्बू समुदायको बाहुल्यता रहेको यहाँ मेलाले धान नाच्ने, मन मिलाएर बिबाह गर्ने स्थलको रुपमा विकास भयो । ‘पुसे मेला जानका लागि मान्छेहरु बेलैदेखि खर्चको जोहो गर्थे । पुस १ गते पुगेपछि गोजीमा पैसा र मेलामा सामान सकिएपछि मात्रै घर फर्कन्थे,’ हाङ्गामले स्मरण गरे, ‘धान नाच्ने केटाले केटी फकाउने धेरै हुन्थ्यो । अहिलेजस्तो खेलकुद थिएन । गाउँमा उत्पादित सुन्तला, बदाम धेरै बिक्री हुन्थे ।’

हाङगामका अनुसार मान्छे नहिँडेपछि तीन दिनको मेला पाँच दिन र कुनै वर्ष त सात दिनसम्म पनि चल्यो । बिक्री गर्ने वस्तु सकिएर व्यापारी उठेपछि मात्रै मानिसहरु हिँड्न थाल्थे । राजनीति गर्नेका लागि कार्यकर्ता, साथीभाई भेट्ने प्रमुख थलो पनि मेला बनेको हाङगाम बताउँछन् । ‘सञ्चारको विकास भएपछि मानिसको यहाँ आउनेक्रम घट्यो । कुनै वर्ष त नाम मात्रैको पनि भयो । पछिल्ला वर्ष भलिबल प्रतियोगिता गराउन थालेपछि यसको क्रेजले पहाडका दुर्गम गाउँका मानिसलाई समेत तानेको छ,’ उनले भने । दर्शकको उपस्थिति र उत्साह देखेपछि आयोजकले तीन वर्षयता शूल्क लिएर प्रवेश गराउन थालेका छन् । 

भलिबलका राट्रिय एम्पायर कृष्ण चोङबाङ प्याराफिटले पनि नथाम्ने गरी सहभागिता हुने गरेको बताउँछन् । उनले पुसे मेलामा मात्रै नभएर सदरमुकाम फुङलिङमा हुने पालिका स्तरीय मेयर भलिबल प्रतियोगितादेखि गाउँमा हुने खेलमा समेत भीड लाग्ने गरेको दाबी गरे ।

अर्का राष्ट्रिय एम्पायर दिवस चोङबाङ भलिबलको क्रेज पछिल्ला वर्ष युवा पुस्तामा पनि देखिएको बताउँछन् । ‘भलिबलका लागि ठूलो मैदान आवश्यक हुँदैन,’ उनले भने, ‘धान, कोदो निकालेपछि गाउँका खेत बारीमा पनि मैदान बनाएर खेल्न मिल्छ । त्यसैमा खेल्छन् पनि र हेर्न पनि ठूलो सङ्ख्यामा उपस्थित हुन्छन् ।’ ताप्लेजुङमा टिकट लिएर प्रतियोगिता यो मेला मात्रै रहेको उनले वताए ।  

यहाँ भारतबाट समेत खेलाडी टीम बोलाएर अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुने गरेको छ । बिजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ७५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा भारतीय टिम पनि आउने गरेका छन् । ‘यसवर्ष पनि भारतको कोलकात्ताबाट टीम आउने भनेको थियो,’ आयोजक पुसे मेला सञ्चालन समितिका सचिव गणेश कार्की डोलीले भने, ‘बाटोबाट फर्कनु परेकाले टीम नआए पनि भारतका तीन जना राम्रा खेलाडी आएका थिए ।’  

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully