पाँच दिनको अन्तरालमा दुई नेता कारबाहीमा परेका छन् ।
What you should know
धरान — पाँच दिनको अन्तरालमा श्रम संस्कृति पार्टीका मनोनीत दुई नेता निलम्बित भएका छन् । पार्टीका केन्द्रीय उपाध्यक्ष मित्र परियारलाई सोमबार निलम्बन गरेको हो भने यसअघि बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ परेपछि गत बुधबार पार्टीले उनलाई निलम्बन गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर तथा पार्टीका अध्यक्ष हर्क साम्पाङले सोमबार एक विज्ञप्ति जारी गर्दै परियारलाई पदबाट निलम्बन गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा उपाध्यक्ष परियारलाई निलम्बन गर्नुपर्ने दुई कारण खुलाएका छन् ।
पहिलो कारणमा, ‘पुस ५ गते बुटबलमा आयोजित आमसभामा आयोजकमाथि आचारसंहिता बर्खिलाप हुने गरी अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिनु’ छ भने दोस्रो कारणमा सोही आमसभामा जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
श्रम संस्कृति पार्टीमा कोही नेता या कार्यकर्ता नरहने, सबै श्रमदाता भएको हुँदा कोही कसैले 'केन्द्र समितिको हुँ’ भन्दै आबद्ध सदस्यलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यवहार गरे यस्तै कारबाही गरिने पनि अध्यक्ष साम्पाङले सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार परियारलाई मंसिर अन्तिम साता काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । परियार उपाध्यक्षमा मनोनीत भएसँगै बुटवलमा भएको आमसभामा बोल्ने क्रममा उनले पार्टी विपरीत बोलेको र त्यसबाहेक आयोजक टिमलाई पनि अपमान गरेको भन्दै पार्टीले कारबाही गरेको उनले बताए ।
पुस ५ मा बुटवलमा भएको आमसभामा आफ्नो भाषण सुन्नुभन्दा पार्टी अध्यक्षको हातबाट टीका लगाउन र फोटो खिच्न सहभागीहरूको भीड लागेको भन्दै उपाध्यक्ष परियारले ‘मैले बोल्न पाउनुपर्छ, म केन्द्रीय उपाध्यक्ष हुँ, ध्यान अन्ततिर मोडिनु हुँदैन’ भन्दै आयोजकले सेड्युलमा गल्ती गरेको भन्दै आक्रोश पोखेका थिए ।
