४५४ मेगावाटको किमाथांका अरुण आयाेजनामा लगानी गर्न संखुवासभाका स्थानीय तह सहमत

सोमबार खाँदबारीमा विद्युत उत्पादन कम्पनी लिमिटेडले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आआफ्नो स्थानीय तहमा परेको शेयर बराबरको लगानी गर्न तयार रहेको बताएका हुन् ।

पुस ७, २०८२

दीपेन्द्र शाक्य

Local levels of Sankhuwasabha agree to invest in 454 MW Kimathanka Arun project

What you should know

संखुवासभा — भोटखोला गाउँपालिकामा निर्माणाधीन ४ सय ५४ मेगावाट क्षमताको किमाथांका जलविद्युत आयोजनामा जिल्लाका १० वटै स्थानीय तहले संस्थापक शेयरमा लगानी गर्ने सहमति जनाएका छन् ।

सोमबार खाँदबारीमा विद्युत उत्पादन कम्पनी लिमिटेडले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आआफ्नो स्थानीय तहमा परेको शेयर बराबरको लगानी गर्न तयार रहेको बताएका हुन् ।

छलफलमा आयोजनाका निमित्त प्रमुख कार्यकारी अधिकृत हिरामान वाइबाले किमाथांका जलविद्युत आयोजना ४ सय ५४ मेगावाट क्षमताको ठूला आयोजनामध्ये एक भएको जानकारी दिए । हालसम्म विस्तृत सम्भाव्यता अध्ययन र इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको उनले बताए । यो आयोजना 'जनताको जलविद्युत आयोजना' का रूपमा विकास गरिने उनले उल्लेख गरे । 'आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारण जनताको रहनेछ,' उनले भने, 'स्थानीय सहभागिता र स्वामित्वलाई सुनिश्चित गर्नेछ।' 

संखुवासभाका १० वटै स्थानीय तहको लगानीबारे छलफल भएको भन्दै आयोजना प्रोजेक्ट मेनेजर अशोक पण्डितले निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिइएको बताए । उनले तोकिएको समयमै आयोजना सम्पन्न गर्नका लागि सबै सरोकारवाला बीच समन्वय आवश्यक रहेकोमा जोड दिए ।

छलफलमा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले यति ठूलो र रणनीतिक महत्वको आयोजना भएकाले समयमै निर्माण सम्पन्न हुने गरी काम अघि बढाउनुपर्ने बताए । उनले स्थानीय तह, कम्पनी र केन्द्र सरकार बीचको सहकार्यले मात्र आयोजना सफल हुने विश्वास व्यक्त गरे।

किमाथांका जलविद्युत आयोजना अर्ध–जलाशय प्रकृतिको आयोजना हो । प्रारम्भिक डिजाइन अनुसार छुम्सुर गाउँनजिक अरुण नदीमा करिब १ सय ४० मिटर अग्लो बाँध निर्माण गरिनेछ। उक्त बाँधका कारण अरुण नदीमा करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको, १०३ लाख घनमिटर पानी अट्ने क्षमताको जलाशय बन्नेछ ।

आयोजनाको विद्युतगृह भोटखोला गाउँपालिका–२ अन्तर्गत लिंगम गाउँबाट करिब ५ सय मिटर तल पुङछी भन्ने स्थानमा रहनेछ । आयोजनाका लागि ८.० मिटर व्यासको करिब ५ हजार ९ सय १८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण गरिनेछ।

साथै आयोजनाका संरचना स्थलसम्म पुग्न २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गरिने योजना छ । आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय व्यवस्थापनमा विशेष ध्यान दिइने जनाइएको छ । यो आयोजना निर्माणका लागि करिब ९२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । 

दीपेन्द्र

Link copied successfully