चासोक तङनामका अवसरमा चासोक मेला र सुम्हात्लुङ मिनी म्याराथन आयोजना हुन लागेको यो आठौं वर्ष हो ।
पाँचथर — लिम्बू समुदायको सांस्कृतिक चाँड चासोक तङनामको अवसरमा वर्षेनी लाग्दै आएको चासोक मेला यो वर्ष पुष १० देखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।
पाँचथर सदरमुकाम फिदिमस्थित सुम्हात्लुङ गडी मन्दिर परिसरमा सञ्चालन हुने मेलामा रैथाने उत्पादनसँगै, सांस्कृतिक भेषभुषा, झाँकीसहित खेलकुद प्रतियोगिता आयोजना गरिने आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बे पज संरक्षण तथा विकास प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष नन्द लावतीका अनुसार मेलाका अवसरमा आठौं सुम्हात्लुङ मिनी म्याराथनसँगै जातीय भेषभुषामा आधारित सांस्कृतिक झाँकी र प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिने छ ।
सुम्हात्लुङ मिनी म्याराथनमा यो वर्ष पुरुष र महिला बीच भिन्नै प्रतियोगिता आयोजना हुनेछन् । जसमा पुरुष तर्फको ९.४ र महिला तर्फ ५.३ किलोमिटर दुरीको म्याराथन हुनेछ ।
ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल सुम्हात्लुङ मन्दिरको संरक्षण र प्रचारप्रसारसँगै खेलकुद र संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । चासोक तङनामका अवसरमा चासोक मेला र सुम्हात्लुङ मिनी म्याराथन आयोजना हुन लागेको यो आठौं वर्ष हो ।
