सवारी दुर्घटनामा दुई युवकको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टि–स्टेट नजिक भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पुस ५, २०८२

पर्वत पोर्तेल

Two youths die in road accident

विराटनगर — झापाको बिर्तामोडमा शनिबार साँझको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टि–स्टेट नजिक भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

चार आलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र हालसम्म नामथर वतन नखुलेका अन्दाजी २५–२६ वर्षका एक पुरुष गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकोमा चिकित्सकले साँझ ६:१५ बजे दुवैलाई मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार मृतक दुवैको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ । दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully