ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाका पर्यटकीय क्षेत्रमा पदयात्रा गरिने

खासगरी तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यमा पुग्ने उद्देश्य रहेको र त्यही अनुसारको तयारी भइरहेको केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए ।

पुस ४, २०८२

आनन्द गौतम

Trekking will be conducted in the tourist areas of Taplejung, Tehrathum and Sankhuwasabha

What you should know

ताप्लेजुङ — कोशी प्रदेशमा भ्रमण वर्ष चलिरहेका बेला ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले चैत र वैशाख महिनामा यस क्षेत्रको पदयात्रा गर्ने/गराउने भएको छ । चैत २६ देखि वैशाख ४ गते सम्म सयौंको सङ्ख्यामा मानिसहरू सहभागी हुने गरी पदयात्रा गराउने तयारी गरिएको हो ।

‘नयाँ वर्ष टिपतालाबाट’ भन्ने नारासहित तयार गरिएको कार्यक्रम अनुसार कोशी प्रदेशका खासगरी तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यमा पुग्ने उद्देश्य रहेको र त्यही अनुसारको तयारी भइरहेको केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । 

तामाङका अनुसार तेह्रथुमको बसन्तपुर, ताप्लेजुङ-तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे, मिल्के, जलजले गुफा पोखरी र ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघु पुग्ने योजना रहेको छ । यस समयमा यो क्षेत्र लालीगुँरासले रातै भएको समय हुनेछ । त्यसपछि सदरमुकाम फुङ्लिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक, लेलेप, ओलाङचुङगोला हुँदै नेपाल चीन सिमाना टिपतालासम्म पुग्नेछ । यहाँबाट सिंजेमाताल पुगेर फर्कने गरी योजना रहेको अध्यक्ष तामाङले जानकारी दिए ।

यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक विशेषता समेटिएका सामग्रीहरू तयार पार्ने र यसको प्रचारप्रसारका लागि अभियान चलाउने तयारी सरोकार केन्द्रको छ । अभियानकै बेला ठूलो सङ्ख्यामा मानिसहरूको सहभागिता गराउन प्रचार अभियानलाई तीव्रता दिने र तराईबाट सकेसम्म धेरै मानिसलाई टिपताला पुर्‍याउने तामाङले बताए । 

यसअघि नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले ‘गन्तव्य टिपताला’ अभियान चलाएको थियो । काठमाडौं उपत्यकामा रहेका ताप्लेजुङमा जन्मिएकालाई अनिवार्य टिपताला पुर्‍याउने विशेष लक्ष्य रहेको सरोकार केन्द्रका पूर्वअध्यक्ष चित्रगुप्त साँवा बताउँछन् । यस बाहेक शैक्षिक संस्था, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी तथा सञ्चार माध्यमसँग सहकार्य गर्ने योजना रहेको उनले  जानकारी दिए ।

फेसबुक, युट्युब, एक्स, ट्विटर, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गरेर प्रचार गर्ने र अन्य डिजिटल प्लेटफर्ममार्फत निरन्तर सूचना प्रवाह गर्ने योजना सरोकार केन्द्रको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully