जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार सडक माथिबाट झरेको ढुंगा माटोले एक्स्काभेटरमा क्षति पुर्याएको छ ।
ताप्लेजुङ — सिरिजंगा गाउँपालिका-५ पेदाङ याङपाङमा सडक निर्माणका क्रममा बिहीबार माथिबाट झरेको पहिरोले मेसिन नै पुरिदिएको छ । चालक भने भाग्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार सडक माथिबाट झरेको ढुंगा माटोले एक्स्काभेटरमा क्षति पुर्याएको छ । चालक फुङलिङ नगरपालिका-३ बस्ने ५८ वर्षीय होमप्रसाद लिम्बू सकुशल रहेका छन् । यादवका अनुसार आफूले चलाएको मेसिन पुरिएपछि भाग्न सफल भएका लिम्बू स्वयंले फोन गरेर प्रहरीलाई जानकारी गराएका थिए ।
एक्स्काभेटर तत्काल निकाल्न सक्ने अवस्थामा नरहेको यादवले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी सहायक निरीक्षक पर्वत राई नेतृत्वको टोली पुगेको छ । पहिरो झर्न थालेपछि चालक भागेकाले मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।
