कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको लगानीमा उक्त केन्द्र सञ्चालन गर्न लागिएको हो ।
खोटाङ — यहाँ जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ । कोशी प्रदेशको ३ करोड लगानीमा निजी तथा सार्वजनिक साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरिन लागेको हो ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको लगानीमा उक्त केन्द्र सञ्चालन गर्न लागिएको कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताए ।
खोटाङ उद्योग वाणिज्य संघको संयोजनमा बुधबार दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले कोशी प्रदेश अन्तर पहाडी जिल्लाहरूमा उत्पादित जडीबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको बताएका हुन् ।
‘कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, संकलन र प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको हो,’ राईले भने, ‘यो निजी तथा सार्वजनिक साझेदारीमा सञ्चालन गरिनेछ, यसले युवाहरूलाई रोजगारी र आयआर्जन हुने लक्ष्य राखिएको छ ।’
उक्त जडीबुटी उत्पादन, संकलन र प्रशोधन केन्द्र कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र खोटाङ उद्योग वाणिज्य संघ सम्बद्ध कार्यदलले तयार गरेको योजनाअनुसार सञ्चालनको तयारी गरिएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेले बताए ।
