खोलामा पानी घटेपछि बिजुली उत्पादन घट्दै

१२२.९ मेगावाट क्षमता रहेको अमरपुर सब–स्टेसनमा ५४ मेगावाट मात्रै उत्पादन

पुस २, २०८२

आनन्द गौतम

Electricity generation is decreasing as water levels in the river decrease.

ताप्लेजुङ — खोलामा पानीको मात्रा घटेपछि विद्युत् उत्पादनमा कमी आएको छ । १२२.९ मेगावाट विद्युत् जम्मा हुने पाँचथरको अमरपुर सब–स्टेसनमा हाल करिब ५४ मेगावाट मात्रै उत्पादन भइरहेको छ ।

अमरपुर सब–स्टेसनका एक कर्मचारीका अनुसार बुधबार बिहान ५.८ मेगावाट क्षमताको अपर फावाखोला युनाइटेड हाइड्रोपावरबाट २.१७ मेगावाट, ५ मेगावाट क्षमताको फावाखोला शिवानी हाइड्रोपावरबाट २.६८ मेगावाट र ९.७ मेगावाट क्षमताको इवाखोलाबाट ५.१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

यस्तै, ९.७ मेगावाट क्षमताको रैराङ, २५ मेगावाट क्षमताको काबेली बी–वान र ९.७ मेगावाट क्षमताको काबेली क्यास्केड गरी ४५ मेगावाट क्षमताबाट १८.२८ मेगावाट मात्रै उत्पादन भइरहेको ती प्राविधिकले बताए ।

४७.७ मेगावाट क्षमताको सुपर काबेलीका तीन वटा आयोजनाबाट हाल २५.१५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । पानीको मात्रा बढे उत्पादन बढ्ने र घटे फेरि घट्ने क्रम निरन्तर भइरहने प्राविधिकहरूले बताएका छन् ।

कार्तिक महिनापछि खोलामा पानी घट्न थालेसँगै उत्पादन घट्ने क्रम सुरु भएको उनीहरूको भनाइ छ । बुधबार बिहानको मापनअनुसार १२२.९ मेगावाट क्षमता रहेको अमरपुर सब–स्टेसनमा ५३.२९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully