बम विस्फोट प्रकरण : पक्राउपछि उपाध्यक्ष लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन

विश्व संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा रहेका बेला काठमाडौंसहित देशको विभिन्न स्थानमा बम विष्फोट गराएको अभियोग उनलाई रहेको छ ।

पुस २, २०८२

एलिना राई

Bomb blast case: Shram Sanskriti Party suspends Vice President Lama after arrest

What you should know

धरान — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।

बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन् ।

पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै निर्दोष सावित नभएसम्म उपाध्यक्ष पदबाट निलम्बन गरिएको बताएका छन् । उनी भन्छन्, ‘गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ, राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव हाम्रो तर्फबाट हुने छैन ।’

उनले अघि भने, ‘राज्यले निष्पक्ष छानबिन गर्नुपर्छ । यदि उहाँ दोषी पाइएको खण्डमा कानुन बमोजिम कारबाही हुनुपर्छ तर यदि निर्दोष पाईएमा उहाँलाई दुःख दिन पाइँदैन ।’ उनले आफ्नो पार्टी अरु दलहरुजस्तो विभिन्न घोटालामा जोडिएर पनि पदमै बसिरहने संस्कृति नभएको बताए ।

कुमार, विश्वक्रान्तिका नामले चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो । विश्व संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा रहेका बेला काठमाडौंसहित देशको विभिन्न स्थानमा बम विष्फोट गराएको अभियोग उनलाई रहेको छ ।

१५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट हुँदा ३ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । विगतमा पक्राउ परेर जेल चलान भएका उनलाई केन्द्रीय कारागारमा रहेका बेला २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि छुटेका थिए ।

पाँचथरमा बम विस्फोटका कारण एक जनाको ज्यान जाने गरि भएको घटनामा पनि उनी मुछिएका थिए । जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि उनी पक्राउ परेको जनाइएको छ ।

पाँचथरमा एक बालिकाको ज्यान जाने गरि भएको बम विष्फोट घटनामा उनी लामो समयदेखि फरार रहेको थिए । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंको कपनबाट पक्राउ गरी थप अनुसन्धानको लागि उनलाई मंगलबारै पाँचथर पठाइसकेको बताइएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully