पाथीभरामा मंसिर महिनामा मात्रै ७५ लाख ४९ हजार भेटी संकलन

संकलित रकम आठ किस्तामा गरी नेपाल बैंक लिमिटेडमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

पुस २, २०८२

आनन्द गौतम

7.549 million offerings collected in Pathibhara in the month of Mangsir alone

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा मंसिर महिनामा मात्रै ७५ लाख ४९ हजार रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो महिनामा तीर्थयात्री भने १९ हजार १ सय ८१ जनामात्रै आएका छन् ।

संकलित रकम आठ किस्तामा गरी नेपाल बैंक लिमिटेडमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । 

गत वर्षको यही महिनाको तुलनामा ३५ लाख रुपैयाँ बढी भेटी संकलन भएको हो । गत वर्षको मंसिर महिनामा ४१ लाख १७ हजार रुपैयाँ सङ्कलन भएको थियो भने २१ हजार १ सय ८० जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।

पाथीभराको माथिल्लो फेदीदेखि मन्दिरसम्म चढाएको पैसा कर्मचारीले संकलन गर्ने प्रचलन छ । संकलित रकम माथिल्लो फेदी अस्थायी प्रहरी चौकीमा ल्याएर राखिन्छ । त्यहाँबाट काफ्लेपाटीसम्म मान्छेले बोकेर र काफ्लेपाटीबाट सदरमुकाम फुङलिङसम्म गाडीमा ल्याउने चलन छ । 

जिल्ला समन्वय समितिमा रहेको क्षेत्र विकास समितिको कार्यालयमा भेटी गणना गरिन्छ । गणना भएको रकम अनुकूलता अनुसार बैंकमा जम्मा गरिने सूचना अधिकारी सन्तोष पुर्कोटीले जानकारी दिए ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully