जन्तेढुंगा गाउँपालिकाका सवइन्जिनियरमाथि हातपात

गाउँपालिकाको चिसापानी बजारमा सञ्चालित बजार ढलान कार्य योजनाको अनुगमन, अवलोकन गर्ने क्रममा आइतबार वडा नम्बर–५ का शुभचन्द्र राई र सुमन राईले हातपात गरेका हुन् ।

मंसिर २८, २०८२

डम्बरसिं राई

Sub-engineer of Jantedhunga Rural Municipality assaulted

खोटाङ — जन्तेढुंगा गाउँपालिकाका सवइन्जिनियर रमेशकुमार यादवमाथि हातपात भएको छ । गाउँपालिकाको चिसापानी बजारमा सञ्चालित बजार ढलान कार्य योजनाको अनुगमन, अवलोकन गर्ने क्रममा आइतबार वडा नम्बर–५ का शुभचन्द्र राई र सुमन राईले हातपात गरेका हुन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गरी अनुगमनकै क्रममा कर्मचारीमाथि हातपात हुनु अवान्छित, आपत्तिजनक र निन्दनीय भएको भन्दै घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया टुंगो नलागेसम्म काम ठप्प रहने उल्लेख गरेका छन् । 

सार्वजनिक सेवा प्रवाहमा संलग्न कर्मचारीमाथि गरिएको कुनै पनि प्रकारको दुर्व्यवहार, हातपात, धम्की वा हिंसा स्वीकार्य नहुने भन्दै दोषीमाथि कानुनबमोजिम आवश्यक छानबिन तथा कडा कारबाही गर्न समेत सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरेका छन् ।

घटनालाई हेर्दा नियतवस हातपात गरेकोजस्तो देखिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । ‘बजार ढलान गर्ने गिटीको विषयमा कुरा उठे पनि घटनालाई हेर्दा नियतबस हातपात गरेको देखियो,’ उनले भने, ‘ढलानका लागि इन्जिनियरले प्रयोग नगर्नु भनेपछि थुपारिएको गिट्टी अन्यत्रै सार्नु पर्छ भनेर निहुँ खोजे, त्यसपछि हातपात गरिहाल्यो ।’

ढलान अनुगमनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंसहितको टोली सहभागी थियो । 

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले घटनाबारेमा परेको निवेदन प्रहरीलाई फर्वार्ड गरेको बताइन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully