४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ
संखुवासभा — संखुवासभाको मादी नगरपालिकामा श्रीमान् ले आफ्नै श्रीमतीको हत्या गरी शव गाडेको घटना प्रहरीले सार्वजनिक गरेको छ। मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पालाई पक्राउ गरेपछि श्रीमतीको हत्या गरेको खुलेको हो। उनलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मिति मंसिर ९ गते राति करिब साढे १० बजे ओखरबोटे बजारबाट घर फर्कने क्रममा प्रेम दोर्ची शेर्पा र उनकी ३७ वर्षीया श्रीमती मीना शेर्पाबीच सामान्य विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा बाटोमै कुटपिट गरी श्रीमतीको हत्या गरेको दोर्चीले स्वीकार गरेका छन्।
हत्यापश्चात सोही रात मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा खाडल खनी त्रिपालमा बेरेर शव गाडेको बयान प्रहरीसमक्ष दिएका छन्।
घटनापछि प्रेम दोर्ची शेर्पाले मंसिर २७ गते प्रहरी चौकी मादी, मङ्गलबारेमा श्रीमती हराएको भनेर निवेदन दिएका थिए। खोजतलास तथा सोधपुछका क्रममा प्रहरीले दोर्ची माथि शंका बढेपछि उनले हत्या गरेको स्वीकार गरेको डिएसपी कुमारप्रसाद मैनालीले बताए।
इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा खटिएको अनुसन्धान टोलीले अलैँची बारीमा उत्खनन् गर्दा जमिनमुनि त्रिपालले बेरेको, सडेको अवस्थामा महिलाको शव फेला पारेको उनले बताए। पक्राउ परेका दोर्चीलाई आइतबार संखुवासभा जिल्ला अदालत, चैनपुरबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीले जनाएको छ।
